जेसीजको कार्यक्रममा जनप्रतिनिधि सम्मानीत

0
Shares

काभ्रे ।

बेथान्चोक जेसीज २०२२ ले जेसीज सप्ताह मनाएको छ । सप्ताहब्यापी कार्यक्रम अन्र्तगत शनिबार जनप्रतिनिधि सम्मान गरिएको छ । जेसीजको आस्था अनुसार जनप्रतिनिधिहरुले कार्यकाल भरी गाउँपालिकाका नागरिकहरुको समृद्धीका लागि लाग्न प्रेरित गर्ने उदेश्यले निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको संयोजक मोहनकृष्ण तिमल्सिनाले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा अध्यक्षहरु, सदस्यहरुलाई नेपाली काँग्रेसका बागमति प्रदेश महामन्त्री कञ्चनचन्द्र बादेले सम्मान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै महामन्त्री बादेले जेसीजले लिएको उदेश्य अनुरुप कार्य गर्न अनुरोध गर्दै जनप्रतिनिधिहरुलाई जनताको सेवामा दत्तचित्त हुन आग्रह गर्नु भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकालाई समृद्ध बनाउन जेसीज लगायतका संघ संस्थासँग समन्वय गर्ने बताउनु भयो ।

कार्यक्रममा जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रमाकुमारी प्याकुरेल, उपाध्यक्ष जीवन कार्की, २०२१ का महासचिव विकास मानन्धर, विभिन्न शाखाका अध्यक्षहरु, गाउँपालिका पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्ष कृष्णबहादुर पाख्रिन, पुर्व वडाअध्यक्ष भगवान घिमिरे, जेसीज २०२२ का अध्यक्ष डिकमान लामा, जेसी मोहनकृष्ण तिमल्सिना लगायतले जेसीजले गर्ने सामाजिक उत्तरदायित्व र जिम्मेवारी सम्वन्धी धारणा राख्नु भएको थियो ।

बेथान्चोक जेसीजले सप्ताहब्यापी कार्यक्रम अन्र्तगत मृगौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमको संयोजन शान्ति खत्रीले गर्नु भएको थियो । ठिमी भक्तपुरमा रहेका मृगौला पीडितहरुलाई सहयोग गरिएको उहाँले बताउनु भयो । त्यस्तै चलालगणेस्थानमा नारी चेतना समुहलाई सेनिटरी प्याड वितरण गरिएको थियो । उक्त कार्यक्रमको संयोजन पनि खत्रीले गर्नु भएको थियो । जेसी प्रदीप आचार्यको संयोजकत्वमा गणेश आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ भने जेसी विनोद तिमल्सिनाको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ६६ जनाले रत्तदान गरेका थिए । जेसी कमल नेपालको संयोजनमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

जेसी मोहनकृष्ण तिमल्सिनाको संयोजनमा जनप्रतिनिधिलाई सम्मान गरिएको थियो भने कमल नेपालको संयोजनमा बृक्षारोपण कार्यक्रम आयोजना गरिएका छ । असार १५ गते दहि चिउरा खाने कार्यक्रमको दिन बेथान्चोक ३ सिर्थलीमा नारायणस्थान जाने बाटोमा बृक्षारोपण गरिने अध्यक्ष डिकमान लामाले बताउनु भयो । अध्यक्ष डिकमान लामाले जेसीज बेथान्चोक मार्फत विभिन्न कृयाकलाप भईरहेका छन् भने सचिवालयका लागि जग्गा ब्यवस्थापन गर्ने कार्य भईरहेको छ ।