नेप्से फेरि आरालोतिर, ३१ अंकको गिरावट

दुई कम्पनीको मूल्यमा सर्किट



Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

 काठमाडौं

मंगलबार ३७ अंकले बढेको नेप्सेमा दोस्रो दिन पुनः ३१ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ३१ दशमलव २१ अंकले घटेर १८९३ दशमलव ५३ अंकमा झरेको हो ।

३१ अंकभन्दा बढीले घटेको बजारमा बुधबार कारोबार रकमसमेत ८४ करोड ३७ लाखमा खुम्चिन पुगेको थियो । १३ वटै उपसूचक ऋणात्मक भएर पनि बजार राताम्मे भयो । डेभलपमेन्ट बैंक समूह २ दशमलव ७५ प्रतिशतले घट्यो भने हाइड्रोपावर समूह २ दशमलव ४९ प्रतिशतले, फाइनान्स समूह २ दशमलव ६६ प्रतिशतले, निर्जीवन बिमा समूह १ दशमलव ९९ प्रतिशतले, जीवन बिमा समूह १ दशमलव ४५ प्रतिशतले, बैंकिङ समूह १ दशमलव २१ प्रतिशतले घटेको थियो ।

यस्तै, माइक्रोफाइनान्स समूह १ दशमलव ११ प्रतिशतले घटेकोमा म्यानु एन्ड प्रो समूह १ दशमलव २३ प्रतिशतले, ट्रेडिङ समूह १ दशमलव १ प्रतिशत, होटल तथा पर्यटन समूह १ दशमलव ०१ प्रतिशतले, म्युचुअल फन्ड ० दशमलव ८५ प्रतिशतले घटेको छ । अन्य समूह भने २ दशमलव ६६ प्रतिशतले घट्यो ।

बुधबार सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत सेमी–१ ले र आँधीखोला लघुवित्त वित्तीय संस्थाले समान १० प्रतिशतले कमाए भने युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावरका सेयरधनीहरूले ६ दशमलव ४८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्