सेयर जारी नगरेका बिमा कम्पनी पनि मर्जरमा जान सक्ने



काठमाडौं । 

सर्वसाधारणमा सेयर जारी नगरेका बिमा कम्पनीहरू मर्जरमा जान सक्ने भएका छन् । पछिल्लो समय बिमा कम्पनीहरूलाई मर्जरमा जान समितिले दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ । यसैका लागि हालै गाभ्ने गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी थप व्यवस्थासहित परिपत्र जारी गरेको छ ।

जसमा सर्वसाधारणमा सेयर जारी गरिसकेका वा गरिनसकेका इजाजतपत्र प्राप्त बिमकहरू एक आपमा मर्जरमा जान मिल्ने समितिले जनाएको छ ।तर, मर्जरमा गएका बिमा कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्थासम्बन्धित बिमा कम्पनीले गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

त्यस्तै, बिमा समितिबाट तोकेको बिमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेको कम्पनीहरू मर्जरका योग्य हुनेछन् । तर, उक्त कम्पनीहरू मर्जरमा गएपछि बिमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिएबमोजिम कायम गर्नुपर्ने व्यवस्था छ । मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका बिमकहरूले गाभ्ने वा प्राप्ति प्रक्रियालाई मनासिव कारणसहित बिमा समितिको स्वीकृति नलिई आफूखुसी भंग गरी त्यस्तो प्रक्रियाबाट अलग भएको निर्णय गर्न नपाइने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्