नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर ७ करोड मूल्य पर्ने जग्गा किनबेच, गिरोहमा संलग्न ५ जना पक्राउ

0
Shares

काठमाडौं । नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर ७ करोड बराबर मूल्य पर्ने जग्गा किनबेच गर्ने ५ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं कीर्तिपुरमा रहेको करिब ७ करोड मूल्य बराबरको जग्गा नक्कली कागजात बनाएर बिक्री गर्ने ५६ वर्षका महावीर चन्द, ४१ वर्षका गणेशबहादुर खनाल, ४० वर्षका बाबुराम कार्की, ४६ वर्षका प्रेमप्रसाद खनाल र ५८ वर्षकी डासी माया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

२०५५ सालदेखि शान्तादेवी लोहनीको परिवार जापानमा बस्दै आएको थियो । पक्राउ परेकाहरुले शान्तादेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर भक्तपुरको सुनिता कर्माचार्यलाई जग्गा बिक्री गरेको खुलेको छ । २४ वर्षपछि नेपाल फर्किएपछि शान्तादेवीले आफ्नो जग्गा बेचिएको थाहा पाइन् । त्यसपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।

लोहनी नेपाल आएपछि जेठ १३ गते मालपोत कार्यालय कलंकी पुगेकी थिइन् । सक्कल पुर्जा देखाई बायोमेट्रीक प्रणालीमार्फत अभिलेखन गर्ने क्रममा मालपोत कार्यालय, कंलकीले सो जग्गा शान्ता देवी लोहनीको नामबाट मृत्यु नामसारी भइसकेको जनाएको थियो । उनीहरुले उक्त जग्गा भक्तपुर निवासी सुनिता कर्मचार्यलाई बिक्री गरेको खुलेको छ ।

पक्राउ पर्नेमध्ये गणेशबहादुर खनाल गिरोहको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । उनले जग्गा खरिद गर्ने व्यक्ति खोज्ने र आर्थिक कारोवारको व्यवस्थानपन हेर्ने गर्ने गरेका थिए । पक्राउ परेका व्यक्तिहरुसँग नक्कली नागरिकताको प्रमाणपत्र, नक्कली जग्गाधनी प्रमाणपत्र लगायतका कागजपत्र प्रहरीले बरामद गरेको छ ।