मुगुमा कुपोषणको भयावह अवस्था, चालू आर्थिक वर्षमा ९१ जना बालबालिका कुपोषित

0
Shares

मुग । मुगुमा यस वर्ष मात्रै ९१ जना बालबालिकामा कडा प्रकृतिको कुपोषण देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

गत वर्ष २ सय २ जना बालबालिकामा कडा प्रकृतिको कुपोषण देखिएको थियो भने यो चालू आर्थिक वर्षमा ९१ जना बालबालिकामा कडा कुपोषण देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष कडा प्रकृतिको कुपोषण हुने तथ्यांक ११ ले कम आएको उनको भनाइ छ । यस्तै अघिल्लो वर्ष १०१ जना बालबालिकामा मध्यम खालको कुपोषण देखिएको थियो भने यो वर्ष बढेर १ सय ६५ जनालाई मध्यम खाले कुपोषण देखा परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

यस्तै गत वर्ष कम तौल भएका बालबालिकाको संख्या ६।३ प्रतिशत थियो भने यस वर्ष घटेर ५।९ प्रतिशत रहेको छ । कडा कुपोषण भएका बालबालिकालाई अस्पतालमै भर्ना गरेर ४२ दिनसम्म सर्वोत्तम पिठो खुवाउने गरिएको स्वास्थ्य सेवा व्यवस्थापक गौतमले जनाए ।

यसमध्ये बढी कुपोषित हुने दर भने दलित समुदायका बालबालकामा बढी देखिएको बताइएको छ । चार वटा स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका र सोरु गाउँपालिकाका बालबालिकामा बढी कुपोषण जोखिम देखिएको स्वास्थ्यकर्मीले बताए ।

तालिम, कुपोषण व्यवस्थापन तौल मेसिन खरिद लगायत कार्यको लागि जिल्ला जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट वर्षेनी २५ लाख बजेट खर्च हुने गरेको छ ।

यस्तै लामो समयदेखि मुगुमा डब्लुएफपी अन्तर्गत सप्रोप नेपालले ६ देखि २३ महिनाका बालबालिका र गर्भवती आमालाई निस्शुल्क पोषिलो पिठो उपलब्ध गराउँदै आए पनि अझै कुपोषण घट्न सकेको छैन ।