मन्त्रिपरिषद् पुनर्गठन गर्न नेकपा (एस) र जसपाको जोड, प्रधानमन्त्री सकारात्मक, माओवादी केन्द्र अनिच्छुक

0
Shares

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले जोड गरेका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा यी दुई दलले मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नेमा जोड गरेका हुन् ।

एकीकृत समाजवादी र जसपाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयलाई प्राथमिकतामा राखेर जोड दिनुपर्ने बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा विशेष गरि एकीकृत समाजवादीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गरेर अघि बढनु पर्नेमा जोड गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका सो पार्टीका चार मन्त्रीलाई फिर्ता गरेर थप चार नयाँ अनुहारलाई स्थान दिनुपर्ने निर्णयलाई प्रधानमन्त्री देउवाले कार्यान्वय नगरेपछि एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनको बैठकमा सो विषयलाई पुनः उठान गरेको उक्त पार्टी सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारेमा हामीले आज कुरा राख्यौं, त्यसबारेमा यसअघि नै हामीले निर्णय पनि गरिसकेका पनि छौँ, यसलाई तुरुन्तै कार्यान्वयन गर्नुस्, अब हामी पर्खिने अवस्थामा छैनौँ भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,’ बैठकपछि खनालले भने, ‘उहाँले तपाईंहरूको निर्णयबारे पत्र आइसकेको छ, कार्यान्वयन गर्छु भन्नुभएको छ, हेरम् ।’

त्यस्तै सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले भने मन्त्रिपरिषद् पुनर्गठन तत्काललाई गर्न नहुने तर्क राख्दै आएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका अर्थमन्त्री जनार्दन शर्मा पटकपटक विवादमा मुछिएपछि प्रतिपक्षी दल नेकपा (एमाले)ले राजीनामा माग गर्दै आएको छ ।