गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा



सुदूरपश्चिम ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताएका छन् ।

धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी प्रतिष्ठानसम्बन्धी विधेयक ल्याएर गेटा मेडिकल कलेज सञ्चालन गरिने बताए । उनले भने, “गेटा मेडिकल कलेज सञ्चालनको माग उठ्दा मलाई खुसी लागेको छ ।”

गौरीफन्टा नाकामार्फत् व्यापारलाई सहज बनाउन पहल गरिने प्रधानमन्त्री देउवाले बताए । नेपाल–भारत सीमा भइ बग्ने मोहना नदीले दुवै देशको भूमि कटान गर्ने गरेको उल्लेख गर्दै उनले कटान रोकथामका लागि पहल गरिने बताए । धनगढीलाई व्यवस्थित र सुन्दर नगरका रुपमा विकास गर्न जग्गा अतिक्रमण रोकथामका साथै वनजङ्गलको संरक्षण जरुरी भएको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

नेपाल सङ्घीयतामा गएकाले विकासका गतिविधि स्थानीय तह र प्रदेशबीच समन्वय, सहकार्य गरी संयुक्तरुपमा अघि बढ्न जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे । जनताका काम छिटोछरितो ढङ्गले गर्नुपर्नेमा भोलि भोलि भनेर टार्ने प्रवृत्ति बढ्दै गएकामा उनले चिन्ता व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि प्रदेश सरकार स्थानीय पालिकासँग साझेदारी गर्न पछि नपर्ने बताए । उनले पश्चिम सेती जलविद्युत् परियोजना र प्रस्तावित गेटा मेडिकल कलेजलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउनका लागि पहल हुन जरुरी रहेको बताए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उपमहानगरपालिकाले पाँचवर्षे कार्ययोजना अघि बढाएको जानकारी दिए । उनले भने, “सुदूरपश्चिमको प्रवेशद्वार धनगढीको विकास र समृद्धिका लागि प्रदेश र सङ्घीय सरकार विकासका काममा साझेदार बन्न आवश्यक छु ।”

नेपाल सरकार र उपमहानगरपालिकाको रु सात करोड २३ लाख ४५ हजारको लागतमा नयाँ भवन निर्माण भएको हो । पाँचतले उक्त भवनमा ३५ कोठा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्