प्रधान सेनापति लेवनान प्रस्थान



काठमाडौ । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न युनएन मिसनको बारेमा जानकारी लिन प्रधान सेनापति प्रभुराम शर्मा आज (शनिबार) लेवनान तर्फ प्रस्थान गरेका छन् ।

रक्षा सचिव सहित ७ सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै प्रधान सेनापति शर्मा लेवनान प्रस्थान गरेको सैनिक मुख्यालयले जनाएको छ ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले गरेका थिए । प्रधान सेनापति महारथी शर्मा लगायतको भ्रमणदलले असार ४ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनानस्थित युनिफिल मिसन र त्यसपछि सिरियास्थित अनडोफ मिसनका भ्रमण गरि उक्त मिशनहरुको वस्तुस्थिती, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले लेवनान, सिरियाका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्नेछन् । उनलाई शनिबार लेवनानमा अनररी कन्सुलेट जनरल अफ नेपाल तथा लेवनानका सरकारी अधिकारीले स्वागत गरेका थिए । तत्पश्चात, लेवनानी सेनाको एक टुकडीद्वारा उनको सम्मानमा सम्मान अर्पण गरेको थियो ।

लेवनान प्रस्थान गर्नुपूर्व प्रधान सेनापति महारथी शर्मालाई जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक विदाई कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

उक्त निरीक्षण भ्रमण पछि प्रधान सेनापति शर्माले संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गते देखि मिति २०७९ असार १७ गते सम्म ५ सदस्यीय भ्रमणदलका साथ संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापति महारथी शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । उक्त भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी शर्मा लगायतको भ्रमणदल असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्