धुलिखेलको पर्यटन विकासमा दीर्घकालिन योजना

पाँच वर्ष के के भयो



काभ्रे ।

धुलिखेलको पर्यटन विकासका लागि पाँच वर्षमा भएका कार्यहरुको निरन्तरताका साथै आगामी वर्ष थप सरोकारवाला निकायसँगको सहकार्यमा थप योजना निर्माण गर्ने तयारी गरेको छ ।

‘पाँच वर्षमा धुलिखेलले पर्यटन विकासको दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘पर्यटन परिषद गठन गरी थप योजना निर्माण गरिरहेका छौं ।’ पर्यटन प्रर्वद्धनका लागि धुलिखेल नगरपालिकाले ५७ वटा पार्क निर्माण गरेको छ । पर्यटनसँगै शहरी सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्दै पुराना शहरहरुको संरक्षण गरी पुर्नजीवन दिने परियोजना शुरु गरेको प्रमुख ब्याञ्जुले बताउनु भयो ।

एक वडा एक होमस्टेको योजना निर्माण गरी कार्यान्वयन शुरु गरेको नगरपालिकाले ब्यवसायी र नगरपालिकासँगको समन्वयमा सास्कृतिक, ऐतिहासिकता, प्राचिनताको संरक्षण गर्ने गरी योजना बढाईएको छ । धुलिखेल नगरपालिकाले एशिया प्यासिफिक रिजनको सदस्यता लिएको छ भने स्थानीय, प्रदेश, केन्द्र हुँदै अन्र्तराष्ट्रिय स्तरमा धुलिखेलको प्रचार प्रसार र पर्यटन सम्वन्धी गतिविधिका बारेमा जानकारी गराईरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । ट्रिटमेन्ट प्लान्ट निर्माण, फोहोरमैला ब्यवस्थापनमा लगानी गरिरहेको बताउँदै कोभिडको समयको कर छुट, फोहोरमैलामा कर छुट, स्थानीयलाई रोजगार दिएको अवस्थामा १० प्रतिशत कर छुट दिने गरेको छ । नगरपालिकाले ३ वर्ष देखि करको दर नबढाएको उहाँले बताउनु भयो ।

सिपमुलक तालिम मार्फत जनशक्ति तयार गरिरहेको बताउँदै नगर प्रमुख ब्याञ्जुले सडक निर्माण, बत्ति ब्यवस्थापन लगायत सुुरक्षाका लागि कार्य गरिरहेको जानकारी दिनु भयो । धुलिखेलमा पृथ्वीनारायण शाह, बलभद्र कुँवरको शालिक निर्माण गरिसकिएको छ भने गुरुप्रसाद मैनालीको शालिक तयारी भएको छ । टुँडिखेलमा रोज पार्क निर्माण, राष्ट्रपति पार्क निर्माण, अपाङ्गमैत्री ट्रेल, प्रकोप मैत्री ट्रेल, धुलिखेल बजारमा एक सय वर्ष पुराना सामाग्री राख्ने गरी धुलिखेल संग्राहलय निर्माण शुरु गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

धुलिखेलमा पर्यटन क्षेत्रको विकास हुँदा गरिवी न्यूनिकरण भएको, साक्षर तथा बालमैत्री नगर निर्माणमा सहयोग पुगेको छ । उपप्रमुख निराजन जंगमले धुलिखेलले विगतमा गरेका कार्यहरुको निरन्तरताका साथै आगामी दिनमा पर्यटन क्षेत्रको विकासका लागि नगरपालिकाले समन्वय र सहयोग गर्ने बताउनु भयो । धुलिखेलको देविस्थानमा नगरपालिकाले ७ करोडको पार्क निर्माण शुरु गरेको छ । पाँच वर्ष भित्र एक लाख विरुवा बृक्षारोपण गर्ने गरी तयारी गरिएको छ ।

धुलिखेलमा ४९ वटा होटल निर्माण भएका छन् । होटलमा ९ सय ७२ वटा कोठामा १ हजार ७ सय ४५ वटा वेड रहेका छन् । जसमा ८ अर्ब २२ करोड ५३ लाख लगानी भएको छ भने २ अर्ब ४८ करोड ९० लाख ७२ हजार बैकले लगानी गरेको छ । धुलिखेलमा होटलहरुमा ९ सय ९२ जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन् । धुलिखेल नगरपालिका भित्रका ५ सय ९५ जनालले रोजगार पाएका छन् । जिल्ला भित्रका ८ सय १ जना रोजगारीमा छन् ।

धुलिखेलमा भएका होटलहरुमा कार्यरत जनशक्तिका लागि बार्षिक १८ करोड ४५ लाख खर्च हुने गरेको छ भने होटल ब्यवसायीहरुले राज्यलाई १३ करोड ३५ लाख र नगरपालिकालाई ३२ लाख ७५ हजार तिरेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा १ सय २४ वटा होटल छन् । ४२ वटा नगरकोटमा छन् भने बनेपामा १०, पनौतीमा ७, नमोबुद्धमा ५, पाँचखाल ३, दोलालघाट ८ वटा छन् ।नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मिले धुलिखेलको पर्यटन विकासका लागि आवश्यक सहयोग गर्ने बताउनु भयो । धुलिखेलका संस्थापक प्रमुख बेलप्रसाल श्रेष्ठले धुलिखेलमा होटल खोल्ने उतिबेला इतिहास भएको बताउनु भयो । सरसफाई र पर्यटकहरुको आगमनका हिसावले धुलिखेलमा पर्यटनको थप सम्भावना रहेको उहाँले बताउनु भयो ।

क्षेत्रीय होटल संघका संस्थापक अरुण श्रेष्ठले धुलिखेलमा पर्यटन पूर्वाधारका साना साना कार्य गरिँदा पनि सहज हुने बताउनु भयो । अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठले स्थानीय सरकारसँगको समन्वयमा थप कार्य गर्न ब्यवसायी तयार रहेको बताउनु भयो । उपाध्यक्षद्धय किरण श्रेष्ठ र भोला थापा, प्रल्हाद प्याकुरेल लगायतले धुलिखेलको पर्यटन विकासका लागि सबै पक्षको सहभागिता र समन्वय आवश्यक रहेको बताउनु भयो । क्षेत्रीय होटल संघले जनप्रतिनिधिहरुलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्