राष्ट्रपति रनिङ शिल्ड हुँदै



हेटौंडा । असार पहिलो साता हेटौंडा उपमहानगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड बृहत् खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा असार ११ र १२ गते प्रतियोगिता हुन लागेको हो ।

हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी खेल सञ्चालन गरिनेछ । हेटौंडा उपमहानगर मेयर मीना लामाको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा उपमेयर राजेश बानियाँ, जिल्ला खेलकुद विकास समिति तथा नगर खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यको सहभागिता थियो ।

प्रत्येक वर्ष स्थानीय तहले आफूअनुकूल समयमा प्रतियोगिता सञ्चालन गर्ने गरेका छन् । प्रतियोगिताबाट छनोट भएका खेलाडीले जिल्लास्तरमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि आधुनिकका शिक्षक राजाराम पोखरेलको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । प्रतियोगिताका मूल समारोह समिति संयोजक मेयर लामा रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्