क्रिकेटको प्रतिभा खोजी

0
Shares

काठमाडौं । 

मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट विभागले टयालेन्ट हन्ट’ (प्रतिभाको खोजी) मार्फत देशभरिबाट क्रिकेट खेलाडी छनोटको शुरुआत गरेको छ ।

सोही कार्यक्रमअन्तर्गत बिहीबार प्रदेश–१ मोरङको विराटनगरबाट विभागले अन्डर १८ इमर्जिङ स्टार क्रिकेट टुर्नामेन्ट २०७९ औपचारिक सुरुआत गरेको हो । मदन भण्डारी स्मृति दिवसको अवसरमा शुरु भएको उक्त कार्यक्रमको मदन भण्डारी स्पोर्टस एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठले जननेता भण्डारीको तस्बिरमा माल्यापर्णसँगै अम्पायरलाई बल हस्तान्तरण गरी उद्घाटन गरिन् ।

दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा तीन टिमको सहभागिता रहेको विभागका अध्यक्ष एवम पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले जानकारी दिए । विभिन्न तीन टिममा सहभागी ४० जना खेलाडीहरू प्रदेश १ का सबै जिल्लाबाट ट्यालेन्ट हन्टमार्फत छनोट गरिएको उनले बताए । दुईदिने प्रतियोगितापश्चात् प्रदेश १ को टिम तयार गरिनेसमेत उनले जानकारी दिए ।

छनोट गरिएका खेलाडीहरूलाई प्याट्रोटिक क्रिकेट एकेडेमी सेन्टर, मिल्स क्रिकेट एकेडेमी ट्रेनिङ सेन्टर र विराटनगर क्रिकेट क्लब ट्रेनिङ एकेडेमीमा विभाजन गरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गौचनले बताए । प्रतियोगिता २५-२५ ओभरको हुनेछ ।

ट्यालेन्ट हन्ट’ मेची–महाकाली अभियानमार्फत सातै प्रदेशमा प्रतिभावान् खेलाडीको पहिचान गरी आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताका लागि सक्षम बनाइने उपमहासचिव श्रेष्ठले बताइन् । एकेडेमीले यो महिना क्रिकेटसँगै अन्य ८ वटा खेलको आयोजना गरी जननेता मदन भण्डारी स्मृति दिवस मनाउने योजना रहेको उनको भनाइ छ ।