सरकारले स्वीका-यो करिब ३६ करोड ६२ लाख बराबरको जापानी सहायता



काठमाडौं ।

सरकारले नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिब ३६ करोड ६२ लाख बराबर) को सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो ।सोही बैठकले नेपाल सरकार र बेलायत सरकार बिचको दुई पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको पनि पत्रकार भेटघाटमा जानकारी गराइयो ।

त्यसै गरी सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ । प्रवक्ता कार्कीका अनुसार समितिका यस अघिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा स्वीकृत गरिएको थियो ।एसिया प्यासिफिक ग्रुर्प अफ मनि लर्निङ (एपीजी) को आगामी साउन ८ देखि १२ गतेसम्म मेलेसियामा आयोजना हुने वार्षिक साधारण सभामा सहभागिताको लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने पनिे बैठकले निर्णय गरेको थियो ।

मिलिनियम च्यालेन्ज अकाउन्ट नेपाललाई रातमाटे सवस्टेशन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।त्यसै गरी असार ११ र १२ गते स्विट्जरल्यान्डमा आयोजना हुने नाइन्टी सेकेन्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेसनल सेटलमेन्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृत दिने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय बिमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार असार ६ गतेदेखि १३ गतेसम्म थाइल्यान्ड र भियतनाममा हुने नलेज सेयरिङ वर्कसप अन इन्क्लुसिप फाइनान्सिङ अप्सन फर एमएस एमीअसको अप्रेटिभ विषयक कार्यक्रममा सहभागी हुन सचिव अर्जुनप्रसाद पोखरेललाई स्वीकृत दिने भएको छ ।
यस्तै, असार ६ मा भर्चुअल माध्यमबाट हुने नेपाल–भुटान दुईपक्षीय व्यापार वार्तामा नेपालको तर्फबाट भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ।

नेपालका लागि अष्ट्रियाका अवैतनिक वाणिज्य दूत राजेशबाबु श्रेष्ठलाई अष्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन स्लिभर र द ब्रिगेड अफ गोर्खाजका भूतपूर्व सैनिकहरू धर्मराज तामाङ, वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिस इम्पायर मेडल पदक ग्रहण गर्न स्वीकृत दिने पनि निर्णय गरिएको छ ।

प्रवक्ता कार्कीका अनुसार सरकारले नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरू मध्येबाट प्रा. सूदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाको लागि एक तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।सरकारले दक्षिण कोरियाको सिओलमा असार ९ देखि १२ गतेसम्म आयोजना हुने द वल्र्ड टुरिजम इन्डस्ट्री कन्फ्रेन्स २०२२ र द थर्टीसेभेन्थ सिओल इन्टरनेसनल टुरिजम फेयरमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेलाई स्वीकृत दिने निर्णय गरेको छ ।

यस्तै, तारागाउँ विकास समितिको अध्यक्षमा सुरेश साह जोशी र सदस्य सचिवमा महेन्द्रकुमार थापालाई नियुक्ति गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्