पल शाहलाई थुनामै राख्न आदेश

0
Shares

पोखरा । 

जिल्ला अदालत तनहुँ र नवलपुरको आदेशविरुद्ध उच्च अदालत पुगेका कलाकार पल शाहको मुद्दा बदर भएको छ । उच्च अदालत पोखरा इजलास ३ का न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले तनहुँकै आदेशलाई सदर गर्दै थुनामा राख्न आदेश दिएको हो ।

उच्च अदालतमा शाहका वकिल कमलामोहन वाग्ले, जगदीशचन्द्र पाण्डे र मिलनध्वज शाहले बहस गरेका थिए । विपक्षमा सरकारी वकिल सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकालले बहस गर्नुभएको थियो ।

नाबालिग गायिका माथि जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षमा रहेका कलाकार पल शाहको मुद्दा सुनुवाइ यसअघि दुई पटकसम्म स्थगित गरिएको थियो । बालिकाको परिवारले तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतमा जबर्जस्ती करणी गरेको भन्दै उजुरी दिएका थिए । करणी गरेको ठहर गर्दै दुवै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि असन्तुष्ट रहेका शाहले आदेश बदर गरिपाऊँ भनी चैत १५ गते उच्च अदालत पोखरा पुगेका थिए ।

सोही मुद्दाको सुनुवाइ अघिल्लो बिहीबार थियो तर, उच्च अदालत पोखरा इजलास नं. १ मा दुई पटकसम्म सुनुवाइ रहे पनि शाहकै वकिलले मुद्दा स्थगित गराएका थिए । इजलास नं. ३ मा सुनुवाइ हुने भएपछि भने उनीहरू सुनुवाइका लागि तयार भएका हुन् । उपरजिस्टार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार २०७८ चैतमा तनहुँ जिल्ला अदालतबाट भएको आदेश वेरितको नदेखिएकाले परिवर्तन गर्न नपर्ने भन्ने आदेश भएको हो ।