पर्साका पालिका सदस्यका लागि चुनावको तयारी

0
Shares

वीरगन्ज ।

पर्सा जिल्लाका चौधवटा पालिकामध्ये नौंवटा पालिकाको कार्यपालिका सदस्य चयन भइसकेको छ भने बाँकी सातवटाको शुक्रबार आज निर्वाचनको तयारी गरिएको छ । वीरुगन्ज महानगरपालिकाको जेठ १९ गते नामाङ्कन दर्ता र २० गते चुनाव हुने कार्यक्रम छ ।

महानगरमा जसपा र नेपाली काङ्ग्रेसको सहकार्यमा कार्यपालिका सदस्यको चयन हुने लगभग पक्कापक्की छ । दुवै दलबीच सहकार्य भएमा बहुमत पनि उनीहरूको आउने बताइन्छ । पोखरिया नगरपालिकामा भने नेका र एमालेबीच तालमेल मिलेको छ । कार्यपालिका सदस्यको लागि दुवैबीच तालमेल भएपछि जेठ १८ गते नाम दर्ता र १९ गते औपचारिकताको लागि निर्वाचन हुने स्रोतले जनाएको छ ।

यसैगरी बहुदरमाई, विन्ध्यवासिनी, छिपहरमाई, सखुवापरसौनी, पर्सागढीको कार्यपालिका सदस्य निर्वाचन बाँकी छ । सो ठाउँमा पनि दलहरुले आफ्नो प्रभुत्व जमाउने गरी अभ्यास गरिरहेका छन् ।

यसैबीच कार्यपालिका सदस्यको निर्वाचनमा पनि पर्सा जिल्लामा रकमको ठूलो चलखेल भएको पाइएको छ । स्थानीय तहको निर्वाचन परिणाम घोषणा भएलगत्तै कार्यपालिका सदस्यको लागि दलहरूले वडासदस्य, अध्यक्षहरूलाई विभिन्न जिल्लाको भ्रमणमा पठाएका थिए । एक सातादेखि धेरैजसो सदस्य बाहिर नै रहेका स्रोतले बताएको छ । उनीहरूलाई पर्यटकीय स्थल सौराहा, जनकपुरधाम, सिमरा, हेटौंडालगायत क्षेत्रमा पठाइएको थियो । पालिकामा रहँदा उनीहरूलाई अन्य पक्षले प्रभावित गर्न सक्ने भनेर जिल्लाबाहिर गुपचुप राखिएको स्रोतले जनाएको छ । गुपचुप राखिएकामध्ये कतिपय क्याम्पबाट भागेर अन्यत्र गएको र परिणाम फरक आएको जानकारी गराइएको छ ।

अहिले वीरगंज र पोखरियाबाहेक कार्यपालिका सदस्य निर्वाचन बाँकी रहेको बहुदरमाई, पर्सागढी, विन्ध्यवासिनी, छिपहरमाई, सखुवापरसौनीमा पनि यही कार्य भइरहेको स्रोतले जनाएको छ । त्यहाँका अधिकांश सदस्य बाहिर भ्रमणमा पठाइएका छन् । चुनावका दिन उनीहरूलाई ल्याउने तयारी गरी बाहिरै राखिएको स्रोतले जनाएको छ ।