काठमाडौं । १८ जेठवैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो शक्ति बन्यो ।
२०७४ सालको निर्वाचनमा कमजोर बनेको कांग्रेस यसपटक गठबन्धनको बलमा शक्तिशाली बन्यो । एउटा स्थानीय तहमा पुन निर्वाचन गराउने निर्वाचन आयोगले निर्णय गरेको छ भने बाँकी स्थानीय तहमा निर्वाचन सकिएर जनप्रतिनिधिले काम सम्हालि सकेका छन् ।
७५२ स्थानीय तहको अन्तिम परिणाम आउँदा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।
निर्वाचन आयोगका अनुसार कांग्रेसले ३ सय २९ पालिकाको नेतृत्व जित हात पार्दा २०७४ को निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा एमालेले २ सय ५मा सीमित बनेको छ ।
माओवादी केन्द्रले १ सय २१ स्थानीय तहमा जित हात पर्दा जनता समाजवादी पार्टी ३०, एकीकृत समाजवादी २०, लोकतान्त्रिक समाजवादी १६ र अन्य पार्टी तथा स्वतन्त्रले ३१ पालिकामा प्रमुख पदमा जितेका छन् ।
२०७४ मा पहिलो शक्ति बनेको एमालेलाई यसपटक सत्ता गठबन्धनले कमजोर बनाइदिएको छ ।
सत्ता गठबन्धन गरेर उम्मेदवारी दिएको कतिपय स्थानीय तहमा एमाले एक्लै भारी बनेको छ । गठबन्धन गरेका कारण एमालेले कतिपय स्थानमा १ सय मत भन्दा कमले पराजय व्यहोरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाषामा भन्दा एमालेलाई माओवादीले कांग्रेससँग मिलेर ‘ठेगान’ लगाइदिएको छ ।
मत संख्याको आधारमा नेकपा एमालेले २०७४ को भन्दा बढाएको भए पनि नेतृत्वमा उसलाई घाटा लागेको छ । वैशाख ३० को निर्वाचनमा एक निर्वाचन क्षेत्रमा बाहेक एमालेले २ करोड ५८ लाख ७३ हजार ९१३ मत पाएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा उसले २ करोड १४ लाख ५० हजार मत पाएको थियो । यस निर्वाचनमा तेस्रो बनेको माओवादीले २०७४ को स्थानीय तह निर्वाचनमा भन्दा यसपटक झण्डै १० लाख मत कम पाएको छ तर पदमा भने उसले जीत बढी हासिल गरेको छ ।
०७४ को निर्वाचनमा कांग्रेसले २ सय ६६ स्थानीय तहमा प्रमुख जितेको थियो तर यसपटक उसले ३ सय २७ प्रमुखमा जितेको छ । गत निर्वाचनमा ३५ प्रतिशत जित हात पारेको कांग्रेसले यसपटक ४३ प्रतिशत पालिका जितेको छ ।
ठेगान लागेको एमाले !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखको प्रशिक्षण कार्यक्रममा एमालेलाई आफूहरुले ठेगान लगाएको भन्दै ‘गौरव’ गरे । निर्वाचनबाट ठूलो दल बनेसँगै कांग्रेसमा पनि अहंकार बढ्दै गएको भन्दै उनले एमालेलाई जस्तै ठेगान लगाउने चेतावनी उनले दिए ।
के प्रचण्डले भने जस्तै माओवादीले एमालेलाई ठेगान लगाएको हो त? भन्ने प्रश्न उब्जिएको छ ।
नेपाली कांग्रेसका कतिपय नेताहरु भने माओवादी लगायतका दलहरुसँगको गठबन्धनले गर्दा कांग्रेसलाई घाटा भएको बताइरहेका छन् । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि कांग्रेसले तालमेल नगरेको भए ४ सय स्थानमा कांग्रेसले एकल जित निकाल्न दाबी गर्छन् ।
तर परिणामहरुले भने गठबन्धनका दलहरु एक्ला एक्लै लडेको भए एमाले कमजोर नहुने देखिएको प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेसका कतिपय नेताको विश्लेषण छ । यसरी एमाले ठेगान लगाउन कांग्रेस सफल भएको भए पनि यसमा उसको एकल स्वामित्व नहुने प्रचण्डको आशय छ ।
०७४ को स्थानी निर्वाचनमा सबैभन्दा ठूलो बनेको एमालेले त्यतिबेला २ सय ९४ पालिकामा जितेको थियो । उसले ३९ प्रतिशत स्थानीय तहको नेतृत्व जितेको थियो । तर यसपटक प्रचण्डका अनुसार एमाले ठेगान लागेको छ । स्थानीय तह निर्वाचनहरुमा पहिलो शक्ति बन्दै आएको एमाले यसपटक दोस्रो बनेको छ । २ सय ५ पालिकामा मात्र जित हात पार्दै एमाले २७ प्रतिशतमा खुम्चिएको छ ।
कांग्रेसलाई ठेगान लगाउने प्रचण्डको चेतावनी
नेकपा माओवादी र नयाँ बनेको दल एकीकृत समाजवादीलाई चुनावपछि गुगलमा खोज्दा पनि नभेटाइने नेकपा हुँदाका दुई मध्येका एक अध्यक्ष केपी शर्मा ओलीको चुनौतीबीच प्रचण्डले आफूलाई बलियो साबित गरेका छन् ।
निर्वाचन परिणामहरुका अनुसार एक्लै प्रतिस्पर्धामा उत्रिएको स्थानमा भन्दा गठबन्धन गरेको धेरै स्थानमा प्रचण्डको पार्टीले जित हात पारेको छ । उनको सबैभन्दा ठूलो सफलता भरतपुरमा भएको छ । छोरी रेणुलाई प्रमुखमा उठाएका उनले पार्टीको कमजोर अवस्थाकाबीच पनि कांग्रेसको मतले जित हात पारे ।
२०७४ मा १४ प्रतिशत पालिकामा जितेको माओवादीले यसपटक १६ प्रतिशत जित हात पारेको छ । तालमेलबाट ६८ पालिकामा जितेको माओवादीले एकल रुपमा ५३ पालिकामा जित हात पारेको छ । उता कांग्रेसले गठबन्धनको बलमा १२१ स्थानमा जित हात पारेको छ ।
बुधबारको प्रचण्डको भनाइ यसैप्रति लक्षित छ । नेपाली कांग्रेसले १२१ स्थानमा गठबन्धन गरेर जितेको छ जहाँ एक्ला एक्लै प्रतिस्पर्धा गरेको भए अवस्था फरक हुने उनको विश्लेषण छ । पहिलो दल बनेसँगै कांग्रेसमा दम्भ पलाए एमालेकै हालत बनाइदिने उनको चेतावनी छ ।
‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्,’ प्रचण्डले भने,’कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।’
माओवादीले कहिले एमाले त कहिले कांग्रेसलाई ठूलो पार्टी बनाइ दिएको भन्दै उनले दम्भ देखाउनेलाई आफूहरुले बिद्रोह गरेर देखाइदिने चेतावनी दिए ।
संघीय र प्रदेश सभा निर्वाचन कहिले गर्ने भन्नेबारे गठबन्धन दलहरुबीच छलफल सुरु भएको भोलिपल्ट उनले कांग्रेसलाई चेतावनी दिँदै सचेत गराए । उनले कांग्रेसमाझ आगामी निर्वाचनमा माओवादीलाई साथ नलिँदा गुमाइन्छ कि भन्ने त्रास दिएका छन् ।
‘कहिले एमालेको दम्भ बढाइदिन्छ, कहिले कांग्रेसको दम्भ बढाइदिन्छ भन्ने आरोप माओवादीलाई छ’ प्रचण्डले भने ,’त्यस्तो गरेको जस्तो पनि देखिन्छ । तर जसले दम्भ देखायो अहंकार त्यसविरुद्ध माओवादीले विद्रोह गर्दै आएको छ ।’
उनले अहिले स्थानीय तहको निर्वाचनपछि एमालेको मन रोइरहेको भन्दै त्यस्तै अवस्था संघीय र प्रदेश निर्वाचन पछि कांग्रेसको हुनसक्ने सांकेतिक चेतावनी दिए ।
सार्वजनिक रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताहरुले जे भने पनि स्थानीय तहको निर्वाचनले एमालेलाई आगामी दिनमा सहज छैन भन्ने परेको प्रचण्डको भनाइ थियो ।
प्रतिक्रिया