छायानाथ रारा नगरपालिकाले आईतबार बिदा नदिने


मुगु ।

नेपाल सरकारले जेठ १ गतेबाट सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेता पनि छायानाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ ।
छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । छायाँनाथ रारा नगरपालिका नगर शिक्षा समितिको निर्णयअनुसार आइतबार विद्यालय बन्द गर्नु पर्दा हिमाली जिल्ला मुगुमा शिक्षा क्षेत्रमा असर पर्ने हुँदा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयलाई आईतबार बन्द नगर्ने निर्णय भएको नगर प्रमुख विष्णुकुमार भामले बताए।नगर प्रमुख भामकाअनुसार शनिबारबाहेक अन्य दिन निरन्तर विद्यालय सञ्चालन गरिनेछ ।

सातामा दिइने दुई दिन बिदाले मुगुमा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा हामीले आईतबार विद्यालय बन्द नगर्ने निर्णय गरेका हौं, नगर प्रमुख भामले भने ।

चारवटा स्थानीय तह रहेको मुगुमा छायानाथ रारा नगरपालिकाले बिदाको निर्णय गर्दा अरु ३ वटा स्थानीय तहले आईतबार बिदा दिने नदिने बिषयमा निर्णय गर्न भ्याई नसकेको कुरा मुगुको कार्मारोग गाउँपालिकाअध्यक्ष छिरिङ क्याप्ने लामा बताउँछन् ।

शैक्षिक सत्र सुरु भएको करिब एक साता बितिसक्दा पनि हिमाली जिल्ला मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न भने सकेको छैन ।