विमानको हवाई मार्ग सफा नभई उडान अनुमति नदिइने

दुर्घटनाग्रस्त तारा एयरको ब्ल्याक बक्स भेटियो


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान गर्ने र पुग्ने गन्तव्य स्थलमात्र नभई हवाई मार्ग (इनरुट) को मौसमसमेत सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ ।

‘इनरुटको मौसम सफा नभए पनि उडानको अनुमति दिने गरिएकोमा अब त्यसो गरिन्न’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले भन्नुभयो– ‘तारा एयरको विमान दुर्घटनाबाट पाठ सिकेर त्रुटि सच्याउन लागिएको हो । इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटोसमेतलाई जनाउँछ ।’ ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता कर्णका अनुसार यस्तो निर्णय भीएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ । उड्डयन क्षेत्रमा भीएफआर भन्नाले आँखाले हेरेर र विमान उडाउने र ल्यान्ड गर्ने विधि भन्ने बुझिन्छ । तर, आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु हुने छैन ।प्रवक्ता कर्णले भन्नुभयो– ‘यो नियम भीएफआर विधिबाट उडान भर्ने विमान कम्पनी, विमानस्थलमा मात्रै लागु हुनेछ । आईएफआर सिस्टम जडान भएको विमान र विमानस्थललाई यो नियम लागु हुने छैन ।

तर, त्यसका लागि पहिले विमानमा आईएफआर हुनुप¥यो, विमानस्थलमा पनि आईएफआर हुनुप¥यो र विमानचालक यो सिस्टम चलाउन दक्ष हुनुप-यो । त्यस अवस्थामा उनीहरूले इनरुट मौसम सफा नभए पनि उडान अनुमति पाउनेछन् । नत्र भने उनीहरू उड्ने स्थान, पुग्ने स्थान र जाने बाटोको पनि मौसम सफा भएको यकिन भएपछि मात्रै एटीसीले उडान अनुमति दिनेछन् । सफा नभएको अवस्थामा उडानको अनुमति पाउने छैनन् ।

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार तारा एयरको हवाईजहाज इनरुट मौसमको खराबीका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक निष्कर्ष छ । यद्यपि मंगलबार विमानको ब्ल्याक बक्स भेटिईसकेकाले अन्य कारण पनि उत्तिकै महत्वपूर्ण हुन सक्छन् । विज्ञहरू मानवीय त्रुटिलाई पनि कारण देखाइरहेका छन् ।

दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले मंगलबार बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको सबै रेकर्ड रहने भएकाले हवाई जहाज दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।यसैबीच हवाई जहाज दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव पनि भेटिएको बताइएको छ ।

सोमबारसम्म भीरमा अड्किएको शव निकाल्न बाँकी थियो भने हराइरहेको अर्को एउटा शवको खोजी जारी थियो । मंगलबार बिहान भने सबै शव संकलनको काम सकिएको छ ।तीन जना चालक दलका सदस्य र १९ जना यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।