ललितपुरमा महिला उद्यमी सम्मेलन, उद्यम गर्नेलाई महानगरले ऋण दिने



ललितपु्र । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरबाट तालिम लिएकाले अनिवार्य रुपमा उद्यम गर्नुपर्ने बताएका छन् । महानगर र युएनडिपीले संयुक्त आयोजना गरेको महिला उद्यमी सम्मेलनमा बोल्दै नवनिर्वाचित नगरप्रमुखले वित्तिय संघ, संस्थासँग सहकार्य गरेर उद्यम गर्न ऋण उपलब्ध गराउने बताए हुन् ।

प्रमुख महर्जनले भने, ‘ ब्याजदर न्यून हुन्छ, सम्पूर्ण भुक्तानी ५ वर्षभित्र गर्ने गरी व्यवस्था मिलाउँछौं ।’ आउँदो आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रममा महानगरवासीलाई उद्यमी बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताए ।

अब तालिम दिने विषयलाई भन्दा उद्यमी बनाउने विषयलाई प्राथमिकतामा राख्ने नगरप्रमुख महर्जनको भनाइ थियो । महानगरभित्र रहेका खुल्ला ठाउँमा साना तथा मझौला व्यवसायीले स्टल राखेर आफ्ना उत्पादनको प्रबद्र्धन गर्न उनले सुझाए ।

उपप्रमुख मंजली शाक्यले सांस्कृतिक सहर महानगरको परिचयलाई अब उद्यमीको नगर बनाउन तर्फ सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताइन् ।

सम्मेलनले महिला उद्यमीको संभावना र समस्या दुवैको खोजी गर्नुपर्ने बताउँदै महानगरले यस सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

महानगरलाई समृद्ध बनाउनका लागि अर्थतन्त्र महत्वपूर्ण आधार भएको बताउँदै सीप र उद्यमले नगरलाई समृद्ध बनाउने दाबी उनको थियो ।

नेपाल राष्ट्र बैंकका ईश्वरी प्रसाद भट्टराईले महिला उद्यमशीलता कर्जा अन्तर्गत ८७ अर्ब लगानी भएको बताए । उनका अनुसार उक्त रकम कुल कर्जाको ३४ प्रतिशत रहेको जानकारी दिए । महिला उद्यमशीलता कर्जा अन्तर्गत आवश्यक प्रक्रिया पुरा गरेपछि बैंकले १५ लाख दिने उने बताए ।

युएनडिपीकी नेपाल प्रतिनिधि आशानिया मेडागानगोडाले उद्यमशीलताभित्र पनि फरक क्षेत्रमा लाग्न चाहनेलाई प्राथमिकता दिनुपर्ने बताइन् । उद्यम गर्न चाहनेलाई उपलब्ध गराइने कर्जाको सन्दर्भ दिइने सूचना महत्वपूर्ण हुने उनले बताइन् ।

सम्मेलनमा पाँच सय महिला उद्यमीको सहभागिता थियो । उक्त सम्मेलनमा महिला उद्यमीहरुले आफ्नो उत्पादनको स्टल राखेका थिए ।

महिला विकास महाशाखा प्रमुख महेश्वरी विष्टले महिला उद्यमीको समस्या, उनीहरुले प्राप्त गर्ने अवसर र संभाव्यता खोजीका लागि यो सम्मेलन आयोजना गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्