सूर्ति नियन्त्रणका लागि ललितपुरका मेयरले गरे घरदैलो गर्ने प्रतिबद्धता

0
Shares

काठमाडौं । 

विश्व सूर्तिजन्य पदार्थ नियन्त्रण दिवसको पूर्व सन्ध्यामा ललितपुरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुरलाई कानून बमोजिम सूर्तिजन्य पदार्थ नियन्त्रण नगरका रुपमा परिचित गराउँन घरदैलो अभियान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मेयर महर्जनले नगर प्रहरीहरुलाई निर्देशन दिँदै भन्नुभयो तपाईहरुले ललितपुरका बासिन्दालाई सार्वजनिक पार्क, सवारी साधन, अस्पताल, शैक्षिक संस्था लगायतका निकायमा कानूनले नै प्रतिबन्ध गरेको सूर्तिजन्य पदार्थ सेवन नगर्न विनम्रपूर्वक आग्रह गर्नुका साथै सूर्ति सेवनले स्वास्थ्यमा पुर्याउने असरका बारेमा प्रशिक्षण दिनुहोला ।

यस बर्षको विश्व सूर्तिजन्य पदार्थ नियन्त्रण दिवसको मूल नारा सूर्तिजन्य पदार्थ त्यागौःस्वास्थ्य र वातावरण जोगाऔं भन्ने रहेको छ । नेपालमा पनि उक्त नारालाई सार्थक बनाउने उदेश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च नेपाल र एक्सन नेपालको आयोजनामा सरोकारवालाहरुसँगको छलफल तथा अन्र्तकृया कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबुले ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथुलाई कदरपत्रद्धारा सम्मान गर्नुभयो ।

उहाँले सूर्ति नियन्त्रण तथा वातावरण सुधारका क्षेत्रमा हाछेथुको योगदानको प्रशसा गर्दै ललितपुरका सार्वजनिक स्थानलाई धुम्रपान रहित स्वच्छ र स्वस्थ नगर विकासका लागि आफुले निर्वाह गर्नुपर्ने भूमिकामा पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले २०७४ को स्थानिय निर्वाचनमा जनताले दिएको जनमतको सम्मान गरेकै कारण २०७९ मा बोक्नै नसक्ने मत पाए म यो मतको उच्च सम्मान गर्दै देश र जनताको हितमा काम गरेर परिणाम देखाउन चाहन्छु भन्नुभयो । उहाँले विश्व सूर्ति नियन्त्रण दिवसलाई सार्थक बनाउँन घरदैलो कार्यक्रम गर्ने बताउँदै पाटन दरवार स्क्यारलाई सूर्ति नियन्त्रण क्षेत्रका रुपमा विकास गर्छौ भन्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.देव कुमारी गुरागाईले सूर्ति नियन्त्रणका लागि लत बसेकालाई छुटाउने भन्दा लत नै बस्न नदिने गरि विद्यालय शिक्षा देखि नै बालबालिकालाई कुलतमा फस्न नदिन सबैको चासो हुनुपर्छ भन्नुभयो । त्यसैगरी राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका विशेषज्ञ डा. भक्त बहादुर के.सीले कार्यपत्र पस्तुत गर्दै नेपालमा सूर्ति नियन्त्रणको कानून २०६८ मै बनेपनि व्यवहारिक रुपमा नियन्त्रणका लागि अझै पहल कदमी कम भएकोछ भन्नुभयो ।

कार्यक्रममा न्याम्सका वीर अस्पतालका क्यान्सररोग विशेषज्ञ डा.सन्ध्या चापागाईले सूर्तिजन्य पदार्थ सेवन गर्ने अधिकांश व्यक्तिमा फोक्सोको क्यान्सर हुन्छ । नसर्ने रोगको प्रमुख कार भनेकै सूर्तिजन्य पदार्थ सेवन गर्नु हो । सन् २०१८ को सर्वे अनुसार नेपालमा सूर्तिजन्य पदार्थ सेवन गर्ने मध्ये १८ प्रतिशत पुरुष र ७ दशमल्भ ७ प्रतिशत महिलनमा फोक्सोको क्यान्सरका कारण मृत्यु भएको देखाएको छ ।

सूर्तिजन्य पदार्थमा मानिसले खानै नहुने विषाधि एशिटोन, एमोनिया जस्ता मुसा मार्ने बिषाधि तथा घरमा लगाउँने कलरमा मिस्ने केमिकल, नङ पालिसमा राखिने केमिकल जस्ता तत्व भएको निकोटिन, टारको प्रयोग गरिन्छ । निकोटिनले लत बसाउँछ भने टारले क्यान्सर गराउँछ । टोबाकोको प्रयोगले मानिसलाई मानसिक रोग, शारिरीक रोग, आर्थिक अभावका साथै दीर्घ रोगी बनाउँछ । यो नियन्त्रणका लागि राजनैतिक प्रतिबद्धताको ठूलो खाँचो छ ।

ललिलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आफ्नो बुबा चेन स्मोकर भएर नसर्ने रोगको सिकार भएर चाडै वित्नुभएकाले आफुले सूर्तिजन्य पदार्थ नियन्त्रणमा कानूनले व्यवस्था गरेका काम गर्न सक्दो लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा विश्व स्वास्थ्य संगठनका डा.घाम्पो दोर्जीले नेपालमा नसर्ने रोगको प्रमुख कारण सूर्तिजन्य पदार्थ भएकाले यसको नियन्त्रणका लागि सबै निकाय सक्रिय हुनु जरुरी छ भन्नुभयो ।

सोही अवसरमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक सुनिलराज शर्माले ३१ मे मा मात्र हैन हरेक निकायले हरेक दिन सूर्ति नियन्त्रणका लागि पहल गर्नुपर्छ । संचार केन्द्रले देशका हरेक नगरपालिकाहरुसँग मिलेर कार्यक्रमहरु तल्लो तहसम्म आमा समूह, विद्यालयहरुमा जाने कार्यक्रम तय गरेको छ । स्थानिय निकायले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । १५ बर्षको बच्चाले नबुझेर सूर्तिजन्य पदार्थ सेवन गर्न शुरु गर्दैछ भने उस्लाई बुझाएर नियन्त्रण गर्न सकिन्छ तर लत बसेका जेष्ठ नागरिकलाई सकिदैन । त्यसैले सानै उमेरमा विद्यालय शिक्षामा नै सूर्तिजन्य पदार्थ सेवन भनेको लागु औषध प्रयोग हो र यसलाई नियन्त्रण नगर्दा शारिरीक, मानसिक, आर्थिक रुपमा ठूलो क्षति हुन्छ भन्ने ज्ञान दिन सक्नुपर्छ भन्नुभयो ।

पाटन अस्पतालका निर्देशक डा.रवि शाक्यले पनि सूर्तिसेवनलाई समष्टिगत रुपमा लागुपदार्थकै रुपमा लिनुपर्छ भन्नुभयो । उहाँले नेपालमा नेपालमा ४८ प्रतिशत पुरुष र ११ प्रतिशत महिलाले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेकाले दीर्घरोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउँनुभयो । उहाँले नेपालमा पछिल्लो समय युवा पुस्ता कुलतमा फस्नुको प्रमुख माध्याम सूर्ति, चुरोटको सेवन नै हो भन्नुभयो । सोही अवसरमा एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले टोबाकोले ५० प्रतिशत आफ्नै उपभोक्तालाई अकालमा मार्दैछ भन्नुभयो ।

उहाँले चुरोटको खिल्ली बेच्न नपाउँने कानून भएपनि व्यापारीले खुलेआमा खिल्ली बेच्ने गरेका कारण विद्यार्थी बर्गले खाजा खाने पैसाले चुरोटको लत बसालेका छन् । पुरै बट्टा किन्नुपर्ने नियमको पालना गराउँने हो भने युवावर्ग चुरोटको लतमा फस्दैनन र भोलीका दिनमा क्यान्स, दम, मुटुको समस्या जस्ता रोग नियन्त्रण हुन्छ र नेपालीले उपचारका लागि हात फैलाएर सडकमा बस्नुपर्दैन भन्नुभयो ।