बजेट स्टुडियो निर्माण निरन्तरताको घोषणामै सीमित


सरकाले आगामी आर्थिक वर्ष २०७९-२०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट घोषणा गरे पनि फिल्म क्षेत्रका लागि भने सुटिङ स्टुडियो निर्माण घोषणालाई निरन्तरता दिएरै टारेको छ।

आइतबारको बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले दोलखामा निर्माणाधीन फिल्म सिटी सुटिङ स्टुडियो निजी र सार्वजनिक साझेदारीमा निर्माण गर्ने घोषणा गरे। अघिल्ला वर्षका अर्थमन्त्रीले जस्तै उनले पनि आगामी आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अघि बढ्ने घोषणा गर्दै यसका लागि बजेट विनियोजन गरिएको बताए।

बजेट भाषणलाई अघि बढाउने क्रममा मन्त्री शर्माले काभ्रेको बनेपामा सुविधासम्पन्न इन्डोर स्टुडियो बनाउने घोषणा पनि गरे। केही वर्षअघिदेखि सरकारले बजेटमा दोलखामा फिल्म सिटी तथा काभ्रेमा इन्डोर फिल्म स्टुडियो निर्माणमा बजेट विनियोजन गर्दै आएको छ। भीमेश्वर नगरपालिका-९ स्थित डाङडुङ डाँडामा निर्माणाधीन फिल्म सिटीसम्म पुग्ने सडक कालोपत्रे भइसकेको छ भने विद्युत्, खानेपानी, प्रवेशद्वार लगायतका संरचना निर्माण भए पनि वर्षौंदेखि निर्माण कार्यले दु्र्रत गति लिन सकेको छैन।

काठमाडौंबाट करिब एक सय नौ किमी पूर्वमा रहेको डाङडुंगे डाँडाबाट काठमाडौंको स्वयम्भू, फूलचोकी, रोल्वालिङ हिमशृंखला, गौरीशंकर, जुगल, गणेश हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुंगाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिनेछ।

वर्षौंअघि तयार पारिएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदनले दुई अर्ब ७५ करोड लागत अनुमान पर्ने जनाएको छ। इन्डोर र आउटडोर सुटिङका लागि प्रशस्त जग्गा आवश्यक परे पनि मुख्य संरचना ९-६१ हेक्टरमा मात्र निर्माण हुने डीपीआरमा उल्लेख छ।
यसका साथमा अर्थमन्त्री शर्माले फिल्म तथा गीत-संगीतका सर्जकलाई प्रोत्साहन गर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।