ललितपुर ।
वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले ललितपुरका उपमेयरलाई संस्कृति अध्ययन कार्यलाई प्राथमिकतामा दिन आग्रह गर्नुभएको छ ।
ललितपुर महानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि भेट्न आएकी मञ्जली शाक्य (आस्था) लाई शुभकामना तथा आशीर्वाद दिँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।अहिले मूर्त र अमूर्त संस्कृति संरक्षणको बहस र संस्कृति निरन्तरताका लागि अक्षयकोष स्थापनामा मात्र सीमित भएको स्थितिमा अब महानगरपालिकाले संस्कृति संरक्षणको बहस चलाउँदै संस्कृतिसम्बन्धी अध्ययन गर्न युवापुस्तालाई प्रोत्साहित गर्नुपर्नेमा संस्कृतिविद् जोशीले जोड दिनुभएको थियो ।
उहाँले भन्नुभयो– ‘अमूर्त संस्कृतिको संरक्षणको लागि सोको महत्व, त्यसमा निहित दर्शन, संस्कृति, संस्कार र सिर्जनशीलतालाई बुझ्नुपर्दछ । अत विविध कोणबाट त्यसको अध्ययन र अनुसन्धान गर्ने कार्यलाई प्राथमिकतामा राखियोस् । त्यससम्बन्धी नीति र कार्यक्रमहरू ल्याइयोस् ।’
हरेक वर्ष ललितपुरमा सञ्चालन हुने कार्तिक नाचको मुख्य र आकर्षक रहेको नरसिंह नाच विश्वकै एउटा दुर्लभ वियोगान्त नाटक भएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘विश्वमा अधिकांश वियोगान्त नाटक ग्रीक साहित्यमा रहेको छ । कार्तिक नाच त्यस्तै वा त्योभन्दा पनि अनुपम वियोगान्त नाटक हो । त्यसको उचित प्रचारप्रसार गर्नुपर्दछ ।’
सो अवसरमा उपमेयर शाक्यले ललितपुरको संस्कृति, सम्पदा संरक्षण र प्रर्वद्धन गर्न आफूले सशक्त र नतिजामुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसपछि उपमेयर शाक्यले पूर्व मेयर बुद्धिराज बज्राचार्य, नेपालका अग्रणी वामपन्थी महिला नेतृ स्नेहलता श्रेष्ठसँग पनि भेटघाट गर्नुभएको थियो ।भेटमा पूर्वमेयर बज्राचार्यले आफ्नो अध्यक्षतामा रहेको ललितपुर विकासको लागि समाजले सम्पदा संरक्षणमा गर्दै आएको कामबारे जानकारी दिँदै अब अर्मूत संस्कृति संरक्षणमा लाग्ने बताउनुभयो । उहाँले सम्पदा पुनःनिर्माणको आफ्नो अभियानमा उपमेयरको हैसियतले साथ र सहयोग दिन उपमेयर शाक्यलाई आग्रह गर्नुभयो ।
वामपन्थी महिला नेतृ ९० वर्षीया स्नेहलता श्रेष्ठले जनताको हितलाई सधैं सर्वोपरी ठानेर काम गर्न सल्लाह दिनुभयो । उपमेयर शाक्यले निर्वाचन अघि उहाँहरू तीन जनासहित वामपन्थी नेता सिद्धिलाल सिंहको आशीर्वाद लिएर उम्मेदवारको मनोनयन दर्ता गर्नुभएको थियो ।











प्रतिक्रिया