ललितपुर ।
ललितपुर महानगरपालिकाको नगरकार्यपालिकाले सोमबार पूर्णता पाएको छ । जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा भएको नगर कार्यपालिका निर्वाचनबाट ८ सदस्य चुनिएसँगै कार्यपालिका संयन्त्रले पूर्णता पाएको हो ।
मेयर, उपमेयर र वडाअध्यक्षहरू स्वतः कार्यपालिको सदस्य रहनेमा आठ जना निर्वाचनको माध्यमबाट पूर्ति गर्नुपर्ने प्रावधान छ ।
संविधानतः निर्वाचित जनप्रतिनिधिद्वारा नगर कार्यपालिका सदस्यमा महिला पाँच जना र दलित र अल्पसंख्यकबाट ३ जना चुनिनुपर्ने प्रावधान रहेको छ । स्थानीय तहको निर्वाचनको मतपरिणाम आएको १५ दिनभित्र कार्यपालिकाको निर्वाचन गराउनुपर्ने प्रावधान रहेको छ । महानगरपालिकाको निर्वाचनको अन्तिम मतपरिणाम जेठ ११ गते बुधबार घोषणा गरिएको थियो ।मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीका अनुसार नेपाली कांग्रेसबाट निर्वाचित हुने कार्यपालिका सदस्यमा वडा नं. ६ का उमा श्रेष्ठ (बज्राचार्य), वडा नं. ९ का सानु महर्जन (अवाले), वडा नं. १० का लक्ष्मी शर्मा (दाहाल) र वडा नं. १६ का बबिता श्रेष्ठ रहनुभएको छ । त्यसै गरी नेकपा माओवादी केन्द्रबाट २८ कार्यपालिका सदस्य शरणलक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ । उहाँहरूलाई मुख्य निर्वाचन अधिकृत कार्यालयले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको थियो ।
दलित तथा अल्पसंख्यकमा कांग्रेसबाट विकासकुमार रोक्का, माओवादी केन्द्रबाट रामशरण सार्की पहेली र एकीकृत समाजवादीबाट सानुकाजी तोलाङे रहनुभएको छ । कुल मतदाता १ सय ३७ जना जनप्रतिनिधिहरू रहेकोमा निर्वाचित हुन कम्तीमा ६९ मत ल्याउनुपर्ने थियो ।नेकपा (एमाले)बाट दलित तथा अल्पसंख्यकमा कृष्णकुमार नेपाली, नातीबाबु सूचिकार र मेनका च्यामेले उम्मेदवारी दिनुभएको थियो भने महिलामा आपुलु शाक्य, रुकमणी महर्जन, संगीता अछामी, सुकुमाया लामा र सुलोचना महर्जनले उम्मेदवारी दिनुभएको थियो ।
गत वैशाख ३० गते शुक्रबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर र ११ वडाअध्यक्षसहित ५६ जना, एमालेबाट उपमेयर र ११ वडाअध्यक्ष सहित ५६, माओवादी केन्द्रबाट ३ वडाअध्यक्षसहित ९, स्वतन्त्रबाट २ वडाअध्यक्ष र राप्रपाबाट २ जना सदस्य निर्वाचित भएका थिए । स्वतन्त्रबाट निर्वाचित २ जना वडाअध्यक्षसहित तीन वटै दलबाट निर्वाचित जनप्रतिनिधिले गठबन्धनको मर्मअनुरूप मतदान गरेका थिए ।संविधानतः नगरपालिकाको कार्यकारिणी अधिकार कार्यपालिकामा निहित रहेको छ । नगरपालिको शासन प्रशासन, निर्देशन र नियन्त्रण कार्यपालिकामा रहेको हुन्छ ।
नगरपालिकाको कार्यपालिका बैठकमा अब कांग्रेसबाट १७, एमालेबाट १२, माओवादी केन्द्रबाट ५, एकीकृत समाजवादीबाट ३ र स्वतन्त्रबाट २ जना हुनेछन् । स्वतन्त्रबाट निर्वाचित २ जना वडाअध्यक्ष यसअघि कांग्रेसबाट निर्वाचित रहेकाले मेयर चिरिबाबु महर्जनलाई यसपटक नीति, योजना र कार्यक्रम पारित गर्न कठिनाई हुने छैन ।यसअघि कांग्रेसबाट मेयर, उपमेयरसहित ११ जना माओवादी केन्द्रबाट ४ र एमालेबाट १८ वडाअध्यक्ष र ८ जना सदस्य गरी कुल २६ जना रहेकोमा अहिले स्थिति पूरै उल्टिएको छ ।











प्रतिक्रिया