काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को लागि सार्वजनिक गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको वजेटमा यो गत आर्थिक वर्ष बजेट भन्दा कम रकम हो । गत बजेटमा युवा तथा खेलकुद मन्त्रालयको लागि २ अर्ब ७४ करोड रकम विनियोजन गरिएको थियो ।
प्रस्तुत बजेट अनुसार राष्ट्रिय खेलकुद परिषद्ले २ अर्ब ९ करोड पाइनेछ । यसैगरी ८७ करोड खेलकुद पूर्वाधारको लागि छुट्याइएको छ । खेलकुदमा २० वर्षे विकास गुरुयोजना ल्याउने पनि मन्त्री शर्माले सदनमा बताउनुभयो । खेलकुद पर्यटनका लागि साहसिक पर्यटनका पूर्वाधार निर्माण गर्न प्रोत्साहन गरिने पनि बजेटमा उल्लेख छ । जुम्लामा हाइ अल्टिच्युट स्पोर्टस् प्रशिक्षण केन्द्रको लागि बजेट छुट्याइएको छ ।
कीर्तिपुरमा रात्रिकालिन खेल हुने
यस्तै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रात्रीकालिन खेल खेल्न योग्य बनाउन पनि बजेटमा उल्लेख गरिएको छ । त्यहाँ दशरथ रंगशालामा झै फ्लड लाइट जडान गरिनेछ । आर्थिक अभावले रोकिएको चितवनको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण पुरा गर्न प्रदेश र स्थानीयतहसँग समन्वय गर्ने उल्लेख गरिएको छ । लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेको मूलपानी क्रिकेट रंगशाला आगामी वर्ष सकाउने बजेटमा उल्लेख गरिएको छ ।
यसैगरी असोजमा आयोजना गरिने नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक बजेट छुट्याएको छ । दशौ राष्ट्रिय खेलकुदका लागि पनि पूर्वाधारमा जोड दिइने जनाएको छ । बाँकेको कोहलपुरमा महिला क्रिकेट प्रतिष्ठान तथा रंगशाला निर्माणको लागि पनि पहल गर्ने बताइएको छ । धनगढीको फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उल्लेख गरिएको छ । यस्तै निजी क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहन गरिनुका साथै फ्रेन्चाइजी लिग आयोजना गर्न पनि पहल गरिनेछ ।
एसियाली र ओलम्पिक खेलकुदमा पदक जित्ने नेपाली खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिको प्रबन्ध गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी प्रशिक्षक र खेलाडीलाई बिमाको व्यवस्था गरिने बताइएको छ । खेलकुद संघलाई दिइ आएको बजेट बढाउने पनि बताइएको छ ।











प्रतिक्रिया