नेपालगन्ज उपमहानगरपालिकामा हाकिमविरुद्ध अधिकृतको विद्रोह

0
Shares

बाँके ।

नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतविरुद्ध कर्मचारी विद्रोहमा जुटेका छन् । ट्रयाकबाहिर गएर जिम्मेवारी बाँडफाँट गरेको लगायत विषय उठाएर सबैजसो अधिकृतहरू हाकिमविरुद्ध खनिएका हुन् ।

उपसचिव बस्नेत नेपालगन्जमा आएको धेरै भएको छैन । बस्नेतले प्रशासनको नियमविपरित जिम्मेवारी बाँडफाँट लगायतका काम गरेको भन्दै उपमहानगरपालिकाका दुई उपसचिवसहित आधादर्जन अधिकृत रुष्ट भएका छन् । शिक्षा र सामाजिक विकास महाशाखाका प्रमुख दुई उपसचिवसहित सबैजसो शाखाका प्रमुख अधिकृतहरूले कार्यालय प्रमुख बस्नेतलाई जिम्मेवारी बाँडफाँटलगायतका कार्यहरू सुधार्न दबाब बढाएका छन् ।

हाकिमपछिका जिम्मेवार सबै अधिकृतले ज्ञापनपत्र नै बुझाएका छन् । ज्ञापनपत्रको बेवास्ता गरेमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि रुष्ट अधिकृतहरू निरन्तर छलफलमा छन् । रुष्ट अधिकृतहरू वैशाख ३० गतेको चुनावअघि नै मेयर डा. धवलशमशेर राणा कहाँ पुगेका थिए । मेयर राणाले प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई बोलाएर नियमअनुसार काम गर्न निर्देशन दिनुभएको भएता पनि बस्नेतले उक्त निर्देशनको बेवास्ता गर्नुभएको रुष्ट कर्मचारीहरूको भनाइ छ । अहिले फेरि ती कर्मचारीहरू नवनिर्वाचित मेयर प्रशान्त विष्टमार्फत दबाब बढाउन लागि परेका छन् ।

बस्नेत हाकिम भएर आएपछि आयुर्वेदिक फाँटका बज्रभूषण झालाई जिन्सी शाखा र स्वास्थ्य शाखाका जागेश्वर बस्नेतलाई योजना शाखाको प्रमुख बनाउनु भएको छ । आफू अनुकूलका कर्मचारीलाई जिम्मेवारी बाँडफाँट गरेको भन्दै रुष्ट बनेका उपसचिवसहित अधिकृतले जुन सेवा समूह को हो, त्यही सेवा समूहमा कर्मचारी पठाउन आग्रह गरिरहेका छन् ।रुष्ट कर्मचारीले सामाजिक विकास अधिकृत कृष्ण जोशीको संयोजकत्वमा कर्मचारीको वृत्ति विकास, उपमहानगरपालिकाको संस्थागत सुदृढीकरण र कर्मचारी हकहितका लागि एउटा तदर्थ समिति गठन गरेको छ ।

समिति संयोजक जोशीले भन्नुभयो– ‘अहिले सबैजसो अधिकृतहरू रुष्ट बनेको कुन कर्मचारीलाई कुन जिम्मेवारी दियो भनेर होइन, उपमहानगरपालिका प्रशासन नियमअनुसार चल्नु प¥यो भनेर हो ।’ उहाँले आफूहरूले पात्र केन्द्रित गरेर होइन कि समग्र उपमहानगरपालिकाको विकासका लागि प्रणाली सुधार्न लागिपरेकोे बताउनुभयो ।

उपमहानगरपालिकाको संस्थागत सुधार सम्बन्धमा संगठन व्यवस्थापन सर्वेक्षण (ओम) लाई प्रभावकारी बनाउन, आर्थिक खरिद ऐन अनुसार चल्न, जुन सेवा समूहको कर्मचारी हो, त्यही सेवा समूहमा जिम्मेवारी दिनलगायत करिब दुई दर्जन मागहरू अघि सारिएको छ ।प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने नेपालगन्जमा आएका छैठौं तहका धेरै अधिकृतहरू एकैपटक सातौं भएर गएपछि जिम्मेवारी बाँडफाँटमा यताउति भएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले कर्मचारीहरूले उठाएको सबैजसो माग राम्रो रहेको जिकिर गर्दै भन्नुभयो–‘दरबन्दी मिलान, तेल खर्च, सेवा सुविधा, संगठन व्यवस्थापन सर्वेक्षणलगायतका विषय उठाउनुभएको छ, सबै राम्रा छन् । सबै मिलेर उपमहानगरपालिकालाई राम्रो बनाउने हो ।’

नेपालगन्जमा प्रायः हाकिम टिक्दैनन् । टुरिस्टका रूपमा आउने हाकिमका कारण नेपालगन्जको विकासमा असर पर्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा बसिसकेका बस्नेतले उपमहानगरपालिकामा अहिले अलि बढी नै आफूखुसी गरेको कर्मचारीहरू बताउँछन् । बस्नेतसँग यसअघिका मेयर र उपमेयर पनि ‘खुसी ’ नभएको, सानो–सानो कुरामा पनि हाकिम प्रत्यक्ष जोडिने गरेको नगरपालिका स्रोत बतायो ।