स्वस्तिमा बाजुराली महिला अवतारमा


निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म चिसो मान्छेको सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ। खनालकै लेखन र छायांकन रहेको फिल्म आगामी असार ३ गतेदेखि अल नेपाल रिलिज हुँदै छ।

ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू देशभक्त खनाल, अर्पण थापा र स्वस्तिमा खड्कालाई सुदँरपश्चिम प्रदेशको भेष र लवजमा देखाइएको छ। ट्रेलरले पशुपतिप्रसाद र आमाजस्ता भिन्न स्वादका फिल्मका निर्देशक चिसो मान्छेलाई पनि सोही प्रकारको फिल्मको रूप दिएको प्रतित हुन्छ। फिल्म काठमाडौंदेखि बाजुरासम्म बाकसमा आफ्नो श्रीमान्को लास राखेर यात्रा गरिरहेकी एक महिला र उनीसँग जोडिएका दुई पात्रको वरिपरि घुमेको ट्रेलरले दर्शाउँछ।

फिल्मको ट्रेलर हेरिसकेपछि काठमाडौं महानगरपालिकाको मेयरमा विजयतर्पm उन्मुख उम्मेदवार बालेन शाहले ट्रेलर उत्कृष्ट बनेको भन्दै प्रशंसा गरे। उनले अर्पण र स्वस्तिको अभिनय मन परेको चर्चा गर्दै आफँ उनीहरूको फ्यान भएको समेत बताए। नायिका स्वस्तिमा खड्काले आफ्नो करिअरमा आजसम्म काम गरेका फिल्ममध्ये चिसो मान्छेबाट उत्कृष्ट अनुभव बोकेको बताइन्।

निर्देशक दीपेन्द्र के खनालले फिल्मले चिसो मान्छेहरूको कथा भन्ने बताए। निर्मात्री शर्मिला पाण्डेले चिसो मान्छेलाई आमापछि दर्शकको मन छुने कथामा अर्को फिल्म बनाएको बताइन्। फिल्ममा स्वस्तिमा खड्का बाजुरेली महिलाको भँमिकामा छन्। यसका लागि उनले बाजुरामा बोलिने भाषाको प्रशिक्षणसमेत लिएकी थिइन्।

डीएस डिजिटल प्रालिको ब्यानरमा अमृता पाण्डेद्वारा प्रस्तुत तथा शर्मिला पाण्डेद्वारा निर्मित फिल्ममा देशभक्त, अर्पण र स्वस्तिमाका साथमा रामबाबु रेग्मी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झाकेन बीसी, श्रृष्टि आचार्य, विकास खनाल, पुष्पा अवस्थी, संजोग रसाइलीलगायतका कलाकारले अभिनय गरेका छन् भने रेखा जोशी र निखिता थापाको स्वर, हर्क साउद र सहदेव अर्यालको गीत रचना, सुभाष भुषालको संगीत, उदयराज पौडेलेको संगीत संयोजन र दीर्घ खड्काको सम्पादन रहेको छ।