पनौतीका नवनिर्वाचित मेयरले गरे पदभार ग्रहण


काभ्रे, पनौती ।

पनौती नगरपालिकाका नव निर्वाचित मेयर रामशरण भण्डारीले पदभार ग्रहण गर्नु भएको छ । पदभार सम्हाले लगत्तै उहाँले जेष्ठ नागरिकहरुलाई गाउ टोलमै गएर स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गर्नु भएको छ ।

सोमबार जिल्लाका मुख्य न्यायाधिशबाट सपथग्रहण गरे पछि उहाले पदभार सम्हाल्नु भएको हो । नगरप्रमुख भण्डारीले पदभारग्रहण गरेलगत्तै नवनिर्वाचित उपप्रमुख सहितका जन प्रतिनिधिहरुको सपथग्रहण कार्यक्रम राखिएको थियो । यो कार्यक्रम नेकपा एमालेले वहिस्कार गरेको थियो । नेकपा एमालेले विज्ञप्ती जारी गरि छुट्टै सपथग्रहण गर्ने भनेपछि नगरप्रमुख भण्डारीले काग्रेस र समाजवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई मात्र सपथ ग्रहण गराउनु भएको थियो ।

एमालेले विज्ञप्ती जारी गरि सपथग्रहण कार्यक्रमबारे आफुहरुसंग कुनै छलफल नगरेको, समयमा जानकारी नगराएको तथा अतिथिहरु बोलाएको विषयमा असहमति राखेर छुट्टै सपथग्रहण गर्ने जनाएको थियो ।पनौती नगरमा एमालेले उपप्रमुख सहित सातवटा वडामा अध्यक्ष जितेको थियो । १२ वटा वडा रहेको पनौती नगरपालिकामा काग्रेसका उम्मेद्वारले चारवटा वडामा अध्यक्ष र एउटा वडामा एकिकृत समाजवादीले अध्यक्ष जितेको थियो ।

पनौती नगरसभामा ६२ जना मध्य उपप्रमुख सहित ३९ जना एमाले तर्फको रहेको जनाएको छ ।उपप्रमुख सहित बहुमत सदस्य आफ्नो पक्षमा भएको भन्दै एमालेले पहिलो दिन देखिनै दम्भ देखाउन शूरु गरेको भन्दै काग्रेस नेताहरुले नगरप्रमुख भण्डारीलाई असफल बनाउन हरप्रयास गर्ने अनुमान गर्दै सजक भएर कार्य गर्न आग्रह गरेका छन् । नगर प्रमुख भण्डारीले शुसासन, आर्थिक पारदर्शीता र दिगो विकासलाई ध्यानमा दिए अघि बढ्ने भन्दै समग्र नगर विकासमा एमाले पनि साथ दिन आशा गरेको बताउनु भएको छ ।