पोखरा महानगर अपडेट : प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता



गण्डकी ।
स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।

हालसम्म एक लाख २२ हजार २१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले ४९ हजार २४१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा(एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४५ हजार २६२ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ९७९ मतान्तरसहित अग्रता हासिल गरेका हुन ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५१ हजार ५८९ मतसहित अघि छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४८ हजार ४९२ मतसहित उनलाई पछ्याइरहेकी छिन् ।

महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वडा रहेको पोखराका १८ वडामा नेपाली कांग्रेस विजयी भएको छ भने सात वडामा एमाले विजयी भएको छ । महानगरको वडा नं १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्