प्रशिक्षक फेर्नुपर्ने समितिको ठहर



काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीका १० खेलाडी र प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बीचको विवादबारे ३ सदस्यीय छानबिन समितिले प्रशिक्षक फेर्न सुझाव दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) लाई बुधबार बुझाएको प्रतिवेदनमा उक्त विकल्प समेटिनुका साथै खेलाडीलाई पनि सचेत गरेको राय समेटिएको हो । समितिले १० दिन लगाएर २८ पृष्ठको प्रतिवेदन तयार पारेको थियो । समितिमा सेनाका पूर्वउपरथी तथा पूर्वराष्ट्रिय खेलाडी भिक्टर राणा, पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेका थिए ।समितिले प्रतिवेदनको राय सुझावमा प्रशिक्षक अलमुताइरी, क्याम्प छोड्न लगाएका १० खेलाडी, व्यावस्थापकसहित एन्फा सचिवालय र सहायक प्रशिक्षकको कमजोरी रहेको भन्दै निम्न कुराहरू प्रस्तुत गरेको छ । प्रतिवेदनमा समस्या समाधानको लागि राय सुझावहरूप्रस्तुत:

(क) खेलाडी सम्बन्धि

-खेलाडी बन्द प्रशिक्षणबाट भागेर गएको तथ्यमा सत्यता देखिन्न । मुख्य प्रशिक्षकले ९ जना खेलाडीहरुलाई बारम्बार अमर्यादित भाषामा प्रशिक्षणबाट बाहिर जानु भनेपछि उनीहरू वाध्य भएको देखिन्छ ।
-मुख्य प्रशिक्षकले होटेल सम्बन्धी विषय बारम्बार नदोहो¥याउनु भनेको खेलाडीले सोही कुरा पुनः समूहगत रूपमा उठाएर बादविवाद सिर्जना गर्नु खेलाडी दोषी देखिन्छ ।
– खेलाडीलाई सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, टिम को–अर्डिनेटर र फिजियोले वैशाख १३ गते राती बाहिर नजान आग्रह गरे पनि बाहिरिनु खेलाडीको गल्ती देखिन्छ ।
-वैशाख १४ गते मुख्य प्रशिक्षक तथा अन्य व्यवस्थापक समूहबाट फोन तथा मेसेजबाट सम्पर्क गर्ने प्रयासमा खेलाडीबाट कुनैपनि प्रतिक्रिया नहुनु गैर जिम्मेवारीपूर्ण कार्य देखिन्छ ।
-एन्फाबाट समस्या समाधान गर्ने प्रयास र समझदारीको विकल्प हुँदाहुँदै खेलाडीले प्रेश मिटिङ गर्नाले समस्याले झन् बढी उग्र रुप लिएको र ती १० खेलाडीलाई एसिया कप छनौटमा मात्र सहभागी हुन वञ्चित गर्नुको साथै फेरि यस्तै घटना दोहोरिएमा राष्ट्रिय फुटबल टिममा छनौट हुन अयोग्य हुनेबारे सचेत गराउन सिफारिस गरिन्छ ।
-खेलाडीहरूलाई एन्फा सचिवालयले र राज्यले पु¥याउन सक्ने उचित सेवा सुविधा प्रदान गर्दै आएकोमा यस्ता विषयमा पुनः विवाद नउठाउनसचेत गराउन सिफारिस गरिन्छ ।

(ख) मुख्य प्रशिक्षक

 मुख्य प्रशिक्षकले एन्फा सचिवालयको मातहतमा रही कार्य नगरी एक्लौटी र स्वेच्छाचारी रूपमा कार्य गर्ने प्रवृत्ति बढ्दै गएको हुंदा नियमअनुसार कार्य गर्न निर्देशित गर्न सिफारिस गरिन्छ ।
-उहाँको मुख्य जिम्मेवारी खेलाडी छनौट, प्रशिक्षण र मूल्यांकन गर्नु रहेकोमा अन्य व्यवस्थापन सम्बन्धी कार्यमा समेत हस्तक्षेप गर्ने प्रवृत्तिलाई सच्याउन सिफारिस गरिन्छ ।
-एकै पटक ९ जना खेलाडी क्याम्प छाडेर जानुमा मुख्य प्रशिक्षक, व्यवस्थापक तथा एन्फा सचिवालयको पनि अवश्य केही त्रुटी छन् । यस्तो अवस्थामा भविष्यमा अरू समस्या उब्जने प्रवल सम्भावनालाई समेत नकार्न सकिदैन । तसर्थः एसिया कप छनौट प्रतियोगिता पछि कतार एफएसंगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ ।

(ग) मुख्य व्यवस्थापक

-मुख्य व्यवस्थापक प्रायः बन्द प्रशिक्षणमा होटेलमा नरहनु र वैशाख १३ गतेको घटनामा पनि होटेलमा नरहेको देखिन्छ ।मुख्य प्रशिक्षक तथा खेलाडीलाई सम्झाउन कोशिस नगरेको हुँदा यस घटना हुनुमा उहाँ जिम्मेवार देखिनुहुन्छ ।
-एउटा राष्ट्रिय फुटवल टिमको नेतृत्व गर्ने कार्य क्षमता उहाँमा देखिदैन । जसले गर्दा एसिया कप छनोट प्रतियोगिता पश्चात उहा’लाई व्यवस्थापक पदबाट हटाउन सिफारिस गरिन्छ ।

(घ) सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, टिम कोअर्डिनेटर र फिजियो

-खेलाडी तथा मुख्य प्रशिक्षक वीच असमझदारी र वादविवाद बढ्दै गएको अवस्थामा घटना सम्हाल्न नसकेकाले उहाँहरूलाई राष्ट्रिय फुटवल टिमको विकासको लागि आफ्नो कार्यदक्षता अभिवृद्धि गर्न सिफारिस गरिन्छ ।

(ङ) एन्फा पदाधिकारी सचिवालय

-१० खेलाडी तथा मुख्य प्रशिक्षकलाई एकै ठाउँमा राखी उनीहरूबीच भएको मनमुटाव मिलाई समझदारी कायम गर्न आवश्यक वातावरण मिलाउन सिफारिस गरिन्छ ।
-मुख्य प्रशिक्षकलाई आवश्यक निर्देशन प्रदान गर्न स्पष्ट नीति कायम गर्न सिफारिस गरिन्छ ।
-एन्फाको विधानमा भएका प्रावधान अनुरूप महŒवपूर्ण निर्णयहरू जस्तै मुख्य प्रशिक्षकको छनौट, प्राविधिक कमिटिको सुझाव अनुसार कार्य समितिमा छलफल गरी उपयुक्त निर्णय लिन सिफारिस गरिन्छ ।
-प्राविधिक कमिटीलाई बढि क्रियाशिल र सशक्त बनाई मुख्य प्रशिक्षक लगायत अन्य उमेर समूहको फुटवल खेलाडीलाई प्रशिक्षक तथा व्यवस्थापकको छनोट, काम कर्तव्य र मूल्यांकन गर्ने आधार तयार गर्न सिफारिस गरिन्छ ।
-राष्ट्रिय फुटबल टिमलाई व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी वहन गर्ने व्यवस्थापक तथा पदाधिकारीहरूको छनोट गर्दा क्षमतावान तथा कार्यदक्षता भएका व्यक्ति खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्न सिफारिस गरिन्छ ।
-राष्ट्रिय फुटवल खेलाडीहरुको बासस्थानको स्तर, वन्द प्रशिक्षण समय अवधि, खानपिन, खेलकुद सामग्री तथा भत्ता बारे लिखित रुपमा मापदण्ड तयार गर्न सिफारिस गरिन्छ ।
-प्राविधिक कमिटी, मुख्य प्रशिक्षक र अन्य क्लबका प्रशिक्षक सम्मिलित एउटा बोर्ड गठन गरी प्रत्येक वर्ष राष्ट्रिय लिग समाप्त भएपछि करिब १ सय जना खेलाडीको सूची तय गरी हरेक स्थानमा वरियता वर्गिकत गरी उक्त सूचीबाट राष्ट्रिय फुटबल टिममा छनौट गर्न सिफारिस गरिन्छ ।
-मातहतको विभागसंग समन्वय गरी आवश्यक श्रोत जुटाई योग्य नेपाली फुटवल प्रशिक्षकलाई व्यवसायिक फुटवल लाईसेन्सको लागि प्रशिक्षणमा पठाउन सिफारिस गरिन्छ ।
-एन्फाको होस्टेललाई अझ व्यवस्थित र सुविधायुक्त बनाई बन्द प्रशिक्षणमा खेलाडी राख्न सिफारिस गरिन्छ ।
-एन्फाको कार्यकारी समितिका सम्पूर्ण अधिकारीहरु विभिन्न आन्तरिक खिचातानी र आसन्न एन्फाको चुनावको असरले वर्तमान मुख्य प्रशिक्षक तथा खेलाडीहरुको सामान्य समस्या समाधान गर्न असफल भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्