काठमाडौं ।
देशैभर आधाजसो मतगणना भइसकेका बेला प्रभावशाली दल नेकपा एमालेले मतगणना निर्देशिका परिवर्तन गर्न माग गरेको छ । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा ८ वटा वडाको मतगणना सम्पन्न भई वडा अध्यक्षसहितको समूहले विजय जुलुस गरिरहँदा वडा नं. ९ को व्यालेट खाली गरी मत गन्ने तयारीमा रहेको अवस्थामा एमालेले मतगणनाको नियम परिवर्तनको माग राखेपछि मंगलबार साँझबाट मतगणना स्थगित भएको छ ।
एमालेले २०७९ वैशाख ३० गते राति सर्वदलीय बैठकमा आफैंले सहमति जनाएको निर्देशिका बदल्न माग राखेको हो । उसले वडा नं. ९ देखि लागु हुने गरी निर्देशिका परिवर्तन गर्नुपर्ने माग राखेपछि जिल्ला मुख्य निर्वाचन अधिकृतले मतगणना शुरू हुनुपूर्व नै सर्वदलीय बैठक बसी तय गरेकाले बीचमा परिवर्तन गर्न नमिल्ने बताएको छ ।
मतगणना स्थगित गरिएपछि अन्य दलहरूले भने निर्वाचन कार्यालय अगाडि नारा, जुलुस गर्दै मतगणना निर्देशिका कुनै दल वा नेताको अनुकूलतामा परिवर्तन गर्नुहुन्न र सबैले मान्ने भनेकै सर्वदलीय निर्यय हो भन्दै अडान लिएका छन् । नेकपा एमालेले मतगणना स्थगित गरी निर्देशिका परिवर्तनको माग गर्दै बुधबार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्राचार गर्न दबाब सिर्जना गरेपछि जिल्ला निर्वाचन कार्यालय काभ्रेले पत्राचार गरेको छ ।
धुलिखेल नगरपालिकामा १२ वटा वडा रहेका छन् । यहाँको कुल मतदाता संख्या २५ हजार ४ सय ७० रहेकोमा १९ हजार ८ सय ३७ मत खसेको छ । अब वडा नं ९ को २ हजार ४०, वडा नं १० को १ हजार ३०, वडा नं ११ को ३ हजार २ सय ५७ र वडा नं १२ को २ हजार ३ सय ३६ मत गरी कुल ७ हजार ३ सय २८ मत गन्न बाँकी रहेको अवस्थामा मतगणना निर्देशिका परिवर्तनको माग लिएर नेकपा एमाले आएको छ । बीचमा निर्देशिका परिवर्तन गर्न नमिल्ने भएकाले केन्द्रीय निर्वाचन आयोगसँग राय सुझाव मागिएको छ ।यस विषयमा केन्द्रीय निर्वाचन कार्यालयका आयुक्त रामप्रसाद भण्डारीले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– उजुरी परेछ, हामी छलफल गरेर टुंग्याउँछाैं ।
यसैबीच नेपाली कांग्रेस काभ्रेले सर्वदलीय बैठकमा निर्वाचन निर्देशिकाले व्यवस्था गरेअनुसार जाने निर्णय गरेको छ । बीचमा आएर सहमति परिवर्तन नगर्ने पनि कांग्रेसले जनाएको छ । खेलको बीचमा नियम परिवर्तन नहुने पनि कांग्रेसले स्पष्ट पारेको छ ।धुलिखेल नगरपालिकाको मेयर पदमा हालसम्म नेकपा एमालेले ५ हजार ७ सय ४८ मत, स्वतन्त्र उम्मेदवार जेब्रा चिन्हले ३ हजार ७ सय ७ मत र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले १ हजार २ सय ७२ मत प्राप्त गरेका छन् । त्यसै गरी, उपप्रमुख पदमा नेकपा एमालेले ४ हजार ७ सय ४१, नेपाली कांग्रेसले ४ हजार ९ सय २ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) ले १ हजार ८६ मत प्राप्त गरेका छन् ।
जिल्ला निर्वाचन आयोगको मुख्य कार्यालयका मुख्य आयुक्त र सर्वदलीय बैठकले २०७९ वैशाख ३० गते गरेको सहमतिमा मतपत्रमा दुईवटा कोठामा मात्र मत संकेत गरेको, तर एउटा मतसंकेत उम्मेदवारको चिन्ह रहेको कोठामा गरेको र अर्को मत संकेत उम्मेदवार नै नरहेको निर्वाचन चिन्ह रहेको कोठामा गरेको अवस्थामा उम्मेदवारको चिन्ह रहेको कोठामा गरेको मत संकेतलाई सदर गर्ने र उम्मेदवार नभएको अर्को कोठालाई बदर गर्ने प्रष्ट उल्लेख गरिएको छ । सोहीअनुरूप ८ नं. वडासम्मको मतगणना गरिसकिएको अवस्थामा अब नियम परिवर्तन सम्भव नभएको निर्वाचन आयोग र अन्य दलहरूको एकमत छ । एमाले पक्षले यतिखेर उम्मेदवार भएको र नभएको दुईटामा मत हालेको पाइएमा अबको मतगणनामा बदर गर्ने गरी नियम परिवर्तन गर्नुपर्ने माग अघिसारेको छ ।











प्रतिक्रिया