स्ट्रेचरमा आएर पुनः मतदान



तनहुँ ।

व्यास नगरपालिका–८ का ९९ वर्षीय वृषसिं गुरुङले दोस्रोपटक स्ट्रेचरमा आएर मतदान गर्नुभएको छ । व्यास–८ रिस्तीस्थित गाविस भवन फेदी मतदान केन्द्रमा बुधबार बिहान ७ बजेदेखि शुरू भएको पुनः मतदानमा गुरुङले पहिलो मत गर्नुभएको हो ।

स्थानीय तह निर्वाचनअन्तर्गत वैशाख ३० गते आयोजित मतदान कार्य निर्वाचन आयोगले रद्द गरी जेठ ४ गतेका लागि तोकेको थियो । उक्त दिन दिउँसो व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले मतदान रद्द गर्ने निर्णय गरेको थियो । सोही दिन पनि गुरुङलाई स्ट्रेचरमा बोकेर ल्याई मतदान गराइएको थियो ।

लामो समयदेखि अशक्त गुरुङको हालै मात्रै प्रोस्टेटको शल्यक्रिया गरिएको जनाइएको छ । उक्त मतदान केन्द्र गुरुङको घरदेखि १० मिनेटको दूरीमा रहेको छ । गाविस भवन फेदीअन्तर्गत (क) मतदान केन्द्रमा ७ सय ५६ र (ख) मतदान केन्द्रमा ८ सय २० मतदाता रहेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले मतदान केन्द्रमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको छ । बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरिएको थियो ।

उक्त मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार र उनीहरूको प्रतिनिधि, निर्वाचनमा खटिएका कर्मचारी, अनुमति प्राप्त व्यक्ति वा संस्थाका प्रतिनिधि र सुरक्षामा खटिएका कर्मचारीबाहेक अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । उक्त मतदान केन्द्रबाट ९ सय ९५ मत खसेको छ । मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएपछि बुधबारबाटै मतगणना शुरू गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्