आज स्थानीय तहको निर्वाचन हुँदै

0
Shares

काठमाडौं ।

आज शुक्रबार हुने स्थानीय तहका जनप्रतिनिधिको दोस्रो कार्यकालको निर्वाचनमा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदका लागि ती उम्मेदवारी प्रतिस्पर्धामा रहेका हुन् । साविकको स्थानीय निकायलाई नेपाल संविधान २०७२ बमोजिम पुनःसंरचना गरी स्थानीय तह बनाइएपछिको दोस्र्रोपटक स्थानीय निर्वाचन हुन लागेको हो । यस निर्वाचनमा स्वतन्त्र र ६५ वटा राजनीतिक दलका गरी ५५ हजार ६ सय ९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष उम्मेदवार रहेका छन् ।

राष्ट्रिय मान्यता प्राप्त ६ दलको मेयर र अध्यक्षमा महिलालाई उपेक्षा गरिएको छ भने उपमेयर र उपाध्यक्षमा पुरुषभन्दा महिला उम्मेदवार बढी छन् । सत्तागठबन्धनका दलहरूले आपसी तालमेल गरी उम्मेदवारी दिएकाले उपमेयर र उपाध्यक्षमा महिलाको संख्या विगतको स्थानीय तहको निर्वाचनको तुलनामा कम रहेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनको प्रयोजनको लागि ७९ वटा राजनीतिक दलहरूले दल दर्ता गराए पनि ११ वटा दलले उम्मेदवारी दिएको छैन । विभिन्न राजनीतिक दलका ३ सय ५५ जना विभिन्न पदाधिकारीहरू निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरूसमेत निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नका लागि मतदान गर्दैछन् ।

मतदाता नामावलीमा भएका समावेश भएका मतदाताले मतदाता परिचय पत्रसँगै नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कल देखाएर मतदान गर्न पाउने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले कसैको डर, त्रास प्रलोभनबाट प्रभावित नभई आफ्नो विवेक वा मनपरेको उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

पद, पैसा र पहुँचबाट प्रभावित नभई एवं निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभ लालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरिकाले सही ठाउँमा प्रयोग गर्न उहाँले सबै मतदाताहरूलाई आह्वान गर्नुभएको छ । साथै उहाँले स्थानीय तह निर्वाचनका सरोकारवाला सबैलाई निर्वाचनको स्वच्छता र विश्वसनीयतामा कुनै प्रश्न उठ्न नसक्ने वातावरण बनाउन पनि आग्रह गर्नुभएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निर्वाचन भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आयोगले गत मंगलबार रातिदेखि नै मौन अवधि लागु गरेको थियो । मौन अवधिमा आचारसंहिताको पालनाका लागि नियमित अनुगमन संयन्त्रले काम गरिरहेको सहायक प्रवक्ता अर्यालको भनाइ रहेको छ । मौन अवधिमा भएका आचारसंहिता उलंघनका घटनामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट समेत प्राप्त सूचनालाई आयोगले जानकारीमा लिएको हो ।

आयोगका अनुसार आचारसंहितासँग सम्बन्धित विषयमा ६६ वटा स्पष्टीकरण, ९ वटा सचेत र १ वटा ध्यानाकर्षणका निर्णय भएको छ । यही क्रममा आचारसंहिताको उल्लंघन हुने गरी क्रियाकलाप गरेको भन्दै आयोगले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्र वागमती प्रदेश सदस्य गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरूसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवकहरू आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाध रूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरूलाई आवश्यक निर्देशन दिई सकिएको र सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना प्रारम्भ गर्ने प्रबन्ध मिलाइएको पनि आयोगले जनाएको छ ।