ताप्लेजुङमा एमाले कार्यकर्ता मृत फेला


ताप्लेजुङ ।

मिक्काखोला गाउँपालिका–१ खोक्लीङमा एक युवक मृत फेला परेका छन् । स्थानीय २४ वर्षीय बिमल कार्की बाटोबाट ३०० मिटर तल भीरमा मृत फेला परेका हुन् ।

बुधबार साँझ हान्द्रुङ बजारबाट आफ्नो घर दुङजा फर्कैदै गरेका कार्कीको शव राति १२ बजेतिर खुर्साने पाखामा फेला परेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।ताप्लेजुङ प्रहरी प्रमुख कैलाश राईले प्रारम्भिक अनुसन्धानमा बाटोबाट खसेर मृत्यु भएको देखिएको बताए ।‘शव पोष्टमार्टमको लागि सदरमुकाम ल्याउँदैछौं । अहिलेको प्रारम्भिक अनुसन्धानअनुसार बाटोबाट झरेर मृत्यु भएको देखिएको छ । थप अनुसन्धान जारी छ,’ प्रमुख कार्कीले भने ।

उनको मृत्युको कारण पोष्टमार्टमपछि मात्रै थाहा हुने उनको भनाइ छ । यता नेकपा एमाले नेता योगेश भट्टराईले भने आफ्ना कार्यकर्तासमेत रहेका कार्कीको अपहरणपछि हत्या गरिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले निर्वाचनमा मतदान गर्न जाने क्रममा एमाले कार्यकर्ता कार्कीलाई अपहरण गरी बेपत्ता बनाई शारीरिक तथा मानसिक यातना दिई क्रुरतापूर्वक हत्या गरिएको लेखेका छन् । घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारवाही गर्न स्थानीय प्रहरी प्रशासनलाई उनले आग्रह गरे ।