निर्वाचनको सम्पूर्ण तयारी पूरा


डोटी । 

डोटीमा स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारीहरु सम्बन्धित क्षेत्रमा पठाइसँगै सम्पूर्ण तयारी पूरा भएको हो ।

निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भएको जिल्ला निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो । जिल्लामा कुल १ लाख २३ हजार ५ सय ५३ जनाले मतदान गर्न पाउने छन् । जिल्ला निर्वाचन कार्यालय डोटीका अनुसार जिल्लामा ६५ हजार २ सय ७१ महिला तथा ५८ हजार २ सय ८२ पुरुष रहेका छन् ।

दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको डोटीमा नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरी निर्वाचनमा सहभागी भएका छन भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा सत्तापक्षमै रहेको नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।

जिल्लाका अन्य स्थानीय तहभन्दा दिपायल सिलगढी तथा शिखर नगरपालिकाको निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ । यी दुई नगरपालिकामा ठूला दलले नयाँ तथा युवाहरुलाई उम्मेदवार बनाएकाले विशेष चासोका साथ हेरिएको शिखर नगरपालिका–११ का इन्द्रबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो– ‘शिखर र दिपायल सिलगढीमा उम्मेदवारहरुबीच कडा प्रतिसपर्धा हुने देखिन्छ, अरु स्थानीय तहभन्दा नगरपालिकामा सबैको चासो देखिएको छ ।’

यसै गरी, यो वर्ष गठबन्धन भएका कारण मतदाताले उम्मेदवारलाई दिनुपर्ने मत चिन्ह पनि फरक फरक भएको र मतदान गर्ने तरीका खासै नसिकेको हुँदा अन्य निर्वाचन भन्दा यो वर्ष मतहरु बदर हुने संख्या बढ्न सक्ने पूर्वीचौकी गाउँपालिका चैकोटका स्थानीय चक्रबहादुर कठायतले बताउनुहुन्छ । ‘गठबन्धनका कारण पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरु फरक–फरक पार्टीका भएका र मतदान चिह्न पनि सोहीअनुसार भएकाले भोटरले खासै सिकेका छैनन्, मत बदर बढी हुन सक्छ ।’ – उहाँले भन्नुभयो ।