प्रशासनको अत्यावश्यकबाहेक सबै सेवा बन्द

0
Shares

हेटौंडा । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ । शुक्रबार हुनलागेको स्थानीय तह निर्वाचनअन्तर्गत प्रशासन कार्यालयमा कार्यरत कर्मचारी मतदान केन्द्रमा खटिने भएकाले कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रशासनबाट प्रवाह हुने नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघ–संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्रलगायत सबै प्रकारको सेवा मंगलबारदेखि वैशाख ३० गतेसम्मका लागि स्थगित गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । उहाँका अनुसार शान्तिसुरक्षा, विपद्, मुद्दा, राहदानीसम्बन्धि अत्यावश्यक सेवा भने नियमित रहनेछ ।

३० गते मध्यरातसम्म जिल्लाभर मदिराजन्य पदार्थ बिक्री–वितरण एवं सेवन पूर्णरूपमा बन्द समेत गरिएको छ । मतदानको दिन विहान ५ बजेदेखि साँझ ६ बजेसम्म अनुमतिप्राप्त सवारीसाधनबाहेक सम्पूर्ण निजी तथा सार्वजनिक यातायातसाधन सञ्चालन नगर्न प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

१० वटै मतगणनास्थलमा सीसीटिभी

स्थानीय तह निर्वाचनको मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान कार्य सम्पन्न भएको छ । निष्पक्ष ढंगबाट मतगणना सम्पन्न गर्न आयोगको निर्देशनबमोजिम मकवानपुरका १० वटै पालिकामा सीसीटिभी क्यामेरा जडान गरिएको हो ।‘मतगणनास्थलमा बदमासी नहोस् र आवश्यक सुरक्षाका विषयलाई ध्यानमा राखेर आयोगले देशभरका मतगणनास्थलमा सीसीटिभी जडान गर्न निर्देशन दिएबमोजिम जडान प्रक्रिया सम्पन्न गरेका हौं’, मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले भन्नुभयो– ‘स्वच्छ र भयरहित ढंगबाट निर्वाचन सम्पन्न गर्ने र निष्पक्ष तरिकाबाट मतगणना गरिनेछ ।’ उहाँले सबै पालिकामा मतदान अधिकृतसहित जनशक्ति खटाइसकिएको बताउनुभयो । मतदान प्रक्रियामा सुरक्षा प्रवन्ध मिलाउनका लागि सुरक्षाकर्मी र म्यादी प्रहरीसमेत परिचालन भइसकेको श्रेष्ठको भनाइ छ ।मौन अवधि शुरु भएकाले निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने र मतदातालाई त्रसित बनाउने, प्रलोभनमा पार्ने कुनै गतिविधि नगर्न अपिल गर्दै उहाँले यदि बेवास्ता गरिएको पाइए कानुनी कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।

मतगणना पालुङ क्याम्पस परिसरमा

स्थानीय तह निर्वाचनको मतगणना पालुङ बहुमुखी क्याम्पस परिसरमा हुने भएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहितको सर्वदलीय बैठकले मतगणनास्थल परिवर्तन गर्दै क्याम्पसपरिसरमा गर्ने निर्णय गरेको हो ।
यसअघि पालुङ जेसिज सभाहलमा मतगणना गर्ने तय भएको थियो । तर, निर्वाचन सम्पन्न भएको ५ दिनभित्र सबै वडाको मतपरिणाम ल्याउनका लागि ३–४ समूहमा गणना गर्नु आवश्यक देखिएपछि सुरक्षाका दृष्टिले स्थान परिवर्तन गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थाहा नगरमा कुल ३२ हजार ३ सय ७ मतदाता रहेकोमा करिब २५ हजार मतदाताले मतदान गर्ने अनुमान छ ।

मतदान केन्द्र अनुगमन

राष्ट्रिय मानवअधिकार आयोग वागमती प्रदेश कार्यालयबाट स्थानीय तह सदस्य निर्वाचन अनुगमनका लागि खटिएको टोलीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित पञ्चकन्या मावि खानीखेत मतदानस्थलका ३ वटा मतदानकेन्द्रको अनुगमन गरेको छ ।

टोलीले इन्द्रसरोवर गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत मुरारी वस्तीसँग समग्र गाउँपालिकाको मतदान केन्द्रको अवस्था, निर्वाचनको तयारी, सुरक्षा अवस्थालगायत विषयमा छलफल गरेको थियो । अनुगमन टोलीले भीमफेदी गाउँपालिकास्थित निर्वाचन अधिकृको कार्यालयमा भीमफेदी गाउँपालिकास्थित मतदान केन्द्रको अवस्था, निर्वाचन तयारी, सुरक्षा अवस्थालगायत विषयमा निर्वाचन अधिकृत रुद्रहरि भण्डारीसँग छलफल गरेको छ ।
छलफलपश्चात् अनुगमन टोलीले भीमफेदी गाउँपालिका–६ स्थित महेन्द्र माध्यमिक विद्यालय भीमफेदी बजारको मतदानकेन्द्र (क) र (ख) तथा वडा–५ स्थित महालक्ष्मी मावि सुपिङको (क), (ख) र (ग) केन्द्र अनुगमन गरेको थियो । अनुगमन टोलीमा मानवअधिकार अधिकृत जयश्वर चापागाईं र लोकनाथ घिमिरे सहभागी हुनुहुन्थ्यो ।