मतदान केन्द्रको व्यवस्थापन मिलाउन निर्देशन


काठमाडौं ।

स्थानीय तहको निर्वाचन हुने दिन भोलि शुक्रबार पानी पर्ने भन्दै निर्वाचन आयोगले त्यसअनुरूप मतदान केन्द्रको व्यवस्थापन मिलाउन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाका आधारमा आयोगले सबै अधिकृतलाई निर्देशन दिइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले नेपाल समाचारपत्रलाई बताउनुभयो । जल तथा मौसमविद्हरुले चुनाव हुने दिन पानी पर्छ भनेकोलाई मध्यनजर गर्दै सबै मतदान अधिकृतहरूलाई सूचना पठाएको जानकारी दिँदै सहप्रवक्ता अर्यालले भन्नुभयो– ‘पानी पर्ने भएकाले सोहीअनुसार मतदान केन्द्र निर्माणका लागि हामीले नगद रकम पनि पठाएका छौं । त्यही रकमबाट अधिकृतहरूले त्रिपाल तथा पाल खरिद गर्नुहुनेछ । कतिपय विद्यालय वा सार्वजनिक भवनको छानामुनि मतदान केन्द्र निर्धारण गर्न भनेका छौं ।’

निर्वाचन सामग्री सुरक्षित हुने र मताधिकार रक्षा हुने तरिकाले व्यवस्था गर्न निर्देशन आयोगले जनाएको छ । यस्तै, दुर्गम स्थानबाट मतपेटिका ढुवानीको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयलाई जिम्मेवारी दिएको प्रवक्ता अर्यालको भनाइ छ । अति विकट क्षेत्रको मतपेटिका हवाई माध्यमबाट र यातायात पुगेको ठाउँमा सवारी साधन र सुरक्षाकर्मी आवश्यकताअनुसार गरेर सुरक्षित रूपमा मतपेटिका मतगणना स्थलमा पु¥याउन स्थानीय प्रशासनलाई जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।

यसैबीच आयोगले बुधबार मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न शुरू गरेको छ । देशभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन लिएकाहरूलाई मतदाता परिचयपत्र वितरण शुरु गरेको हो । प्रवक्ता अर्यालका अनुसार आज बिहीबारसम्म परिचयपत्र वितरण गर्नेछ । स्थानीय तहको निर्वाचनका लागि मतदाताहरूले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिइएको आयोगले बताएको छ ।

मतदाता शिक्षा लिनका लागि नयाँ पुस्ताहरूलाई लक्षित गरी नयाँ बानेश्वर मतदान केन्द्र नमुना मतदान केन्द्र राखिएको थियो ।