जेठ १ गतेबाट सबै विद्यालयमा साताको दुई दिन सार्वजनिक बिदा

हिउँदे तथा वर्षे बिदा कटौती गरिने


काठमाडौं । 

जेठ १ गतेदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने सरकारी निर्णयअनुसार शिक्षा मन्त्रालयले देशभरका विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसअघि शिक्षा मन्त्रालयले शनिबार र आइतबार बिदा दिने विषयमा निर्णय हुन बाँकी रहेको बताएको शिक्षा मन्त्रालयले बुधबार बैठक बसेर यस्तो निर्णय गरेको हो । बैठकले हिउँदे र वर्षे बिदा कटौती गरी वर्षमा बढीमा ३० दिन मात्र बिदा दिने निर्णय पनि गरेको छ ।

हाल चाडपर्व, हिउँदे र वर्षे बिदा गरी वर्षमा ५० दिन बिदा दिने गरिएको छ ।मन्त्रालयका प्रवक्ता दीपक शर्माले नेपाल समाचारपत्रसँग कुरा गर्दै देशैभरका निजी र सामुदायिक विद्यालय दुई दिन बन्द गर्ने तथा स्थानीय तहसँग सल्लाह गरी हिउँदे र वर्षे बिदामा कटौती गर्नसक्ने जानकारी दिनुभएको हो ।

उहाँका अनुसार मन्त्रालयले सबै सरोकारवालासँग समन्वय गरी अहिले केही महिना परीक्षणका लागि दुई दिने बिदा लागु गर्ने निर्णय भएको हो ।मन्त्रीपरिषद्को वैशाख १४ गते सम्पन्न बैठकले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सो निर्णयबारे मंगलबार राजपत्रमा सूचनासमेत प्रकाशन गरेको थियो ।मन्त्रालयले गरेको निर्णयअनुसार विद्यालय समय १० देखि ४ बजेसम्म हुनेछ भने शुक्रबार पूरै समय कक्षा सञ्चालन गर्नुपर्नेछ । निजी विद्यालयले दुईदिने बिदा व्यावहारिक नभएको भन्दै सरकारको निर्णय नमान्ने चेतावनी दिएको सन्दर्भमा प्रवक्ता शर्माले मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्दिन भन्न नहुने जिकिर गर्नुभयो ।

प्याब्सनका अध्यक्ष डीके ढुंगानाले सरकारको सो निर्णय व्यावहारिक नभएको टिप्पणी गर्दै भन्नुभयो– ‘सरकारको यो निर्णयले कोर्स पूरा गर्न सकिँदैन । यस विषयमा आवश्यक छलफल गरी निर्णय गर्नुपर्छ ।’ मन्त्रालयले प्राविधिक शिक्षालयलाई बिदा दिने निर्णयको व्यवस्थापन गर्न सीटीईभीटी र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्ने गरी निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र नेपालको विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटका कारण देखाउँदै परीक्षणका लागि सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो । सातामा दुई दिन बिदा गर्दा सरकारी कार्यालयमा विद्युत्, इन्धन, खानेपानीलगायतमा वर्षभरिमा कम्तीमा २ अर्ब रुपियाँ बचत हुने सरकारको अनुमान छ ।

मन्त्रालयले नयाँ बिदाअनुसार चालु २०७९ सालको नयाँ शैक्षिक क्यालेन्डर तयार गरिरहेको छ । शिक्षा नियमावलीमा प्रत्येक शैक्षिक सत्रमा कम्तीमा २ सय २० दिन विद्यालय खोल्नुपर्ने र कम्तीमा १ सय ८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ ।  वर्षभरि नै आइतबार शिक्षण संस्था बन्द हुने भएमा १ सय ९२ दिन मात्र विद्यालय खुल्ने देखिन्छ र बाँकी १ सय ७३ दिन विद्यालय बन्द हुनेछ । दुईदिने बिदाको निर्णयलाई शिक्षक महासंघले स्वागत गरेको छ । प्याब्सन, एन प्याब्सनलगायतका शैक्षिक निकायले बिदा कार्यान्वयन गर्न मुस्किल पर्ने स्पष्ट पारिसकेको छ ।