पूर्वी रुकुममा महिलालाई अपहरण गरी हत्या गरेको आरोपमा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ

मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा



पूर्वी रुकुम । पूर्वी रुकुममा एक महिलालाई अपहरण गरी हत्या गरेको आरोपमा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता पक्राउ परेका छन् । चुनावी प्रचार–प्रसारको क्रममा भएको विवाद मिलाउन गएकी महिलालाई नियन्त्रणमा लिएर हत्या गरेको आरोपमा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पूर्वी रुकुम पुथाउत्तरगंगा गाउँपालिका–११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार कुमारसिंह बुढालाई रुकुम प्रहरीले पक्राउ गरेको छ ।

गत १९ गते स्थानीय तह निर्वाचनका लागि तक्सेरामा चुनावी प्रचार–प्रसारका क्रममा भएको विवाद मिलाउन गएकी ३९ वर्षीया जुङमाया बुढालाई माओवादी केन्द्रका कार्यकर्ताहरूले अपहरण गरेर हत्या गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतक जुङमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमका लागि ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वी रुकुम पुथाउत्तरगंगामा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको छ । उनीहरूको गठबन्धन भएपछि माओवादी केन्द्रसँग पटक–पटक विवाद र दुई समूहबीच झडप हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्