मतगणनास्थलमा सीसीक्यामेरा जडान


लमजुङ । 

स्थानीय तहको मतगणनास्थलमा सीसी क्यामेरा जडान हुने भएको छ । निर्वाचन आयोगकले प्रत्यक्ष निगरानी गर्नसक्ने गरी लमजुङको आठवटै निर्वाचन मतगणनास्थलमा क्यामेरा जडान गर्न लागिएको हो ।

स्थानीय तह निर्वाचनको मतगणनास्थलको वस्तुस्थितिको प्रत्यक्ष निगरानी गर्न मिल्ने गरी सीसीक्यामेरा जडान गर्न निर्वाचन आयोगले पत्रचार गरिसकेको छ । निर्वाचन आयोगको परिपत्रबमोजिम जिल्लाका सवै स्थानीय तहका निर्वाचन अधिकृतहरुलाई सीसीक्यामेरा जडान गर्न भनिसकेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शिवप्रसाद खनालले बताउनुभयो ।आठ स्थानीय तहमध्ये पाँचवटामा सीसीक्यामेरा जडान भइसकेको छ ।

जिल्लाको बेंसीशहर, मध्यनेपाल, सुन्दरबजार नगरपालिका, दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकाको मतगणनास्थलमा क्यामेरा जडान भइसकेको छ भने राईनास नगरपालिका, क्होलासोँथार र दूधपोखरी गाउँपालिकामा सीसीक्यामेर जडानको क्रममा रहेको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो ।

स्थानीय तहको मतगणनास्थलमा जडान भएका क्यामेरामध्ये मस्र्याङ्दी गाउँपालिकाको मतगणनास्थल भने निर्वाचन आयोगको निगरानी रहने गरी जडान हुन नसकेको उहाँको भनाइ छ । यद्यपि सम्बन्धित ठाउँमा प्रत्यक्ष निगरानी गर्न सकिने र क्यामेराले कैद गरेका सबै दृश्य रेकर्ड रहने खनालले बताउनुभयो ।मतगणनालाई सुरक्षित बनाउन मतगणनास्थलमा सीसीक्यामेराबाहेक फलामको बार हाल्ने र सो सम्भव नभएका ठाउँमा बाँसको बार भने पनि राख्ने निर्वाचन व्यवस्थापन समितिले जनाएको छ । मतगणनाका बेला कुनै पनि अप्रिय घटना नहोस् भन्ने हेतुले मजबुद सुरक्षा निगरानीमा मतगणना गरिने समितिले जनाएको छ ।

मतगणनास्थलमा जाली वा बारभित्र तोकिएका कर्मचारीहरुले मत गणना गर्ने र दलीय प्रतिनिधिहरुले जालिबाहिरबाट नै अवलोकन गर्ने जनाइएको छ । सोबाहेक मतगणनास्थल सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

मतदान केन्द्रमा निर्वाचन सकिएलगत्तै आवश्यक तयारी गरी प्रहरीको सुरक्षा निगरानीमा सबै मतपेटिका मतगणनास्थलमा पु-याइनेछ । सबै मतदान केन्द्रबाट मतपेटिका आएसँगै आवश्यक प्रक्रिया पु-याएर मत गणना शुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।