निष्पक्ष निर्वाचन गराउन माग


काठमाडौं  । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा धाँधली भएको अवस्थामा प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले निर्वाचनलाई निष्पक्ष बनाउन सहयोग गर्ने बताउँदै राज्यशक्तिको दुरूपयोग गरेर धाँधली हुने अवस्थामा प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो । मंगलबार काठमाडौंमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले चुनावमा धाँधली नगर्ने बताउँदै कसैले त्यस्तो काम गर्छ भने दृढतापूर्वक प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सूर्यमा आउने मतको सुरक्षा गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो– ‘हामीमाथि कुटपिट हुन सक्छ, मत कब्जा हुन सक्छ । त्यसैले परिणाम नआउँदासम्म मतपत्र आँखाबाट ओझेल पर्न दिनुहुँदैन ।’भरतपुर, चितवन सिन्धुपाल्चोक, दोलखालगायत धेरै ठाउँमा कब्जा गरिएको बताउँदै ओलीले निर्वाचन आयोग र निर्वाचन गराउन खटिने कर्मचारी सुरक्षाकर्मीलाई पनि निष्पक्ष निर्वाचन गराउन लाग्न आग्रह गर्नुभयो ।

निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकारको ध्यानाकर्षण गराउँदै उहाँले आफ्नो पार्टीले कसैको विरोध नगर्ने र विरोध गर्ने अवस्थामा नपु-याउन पनि चेतावनी दिनुभयो । निर्वाचन आयोगले रूख हरियो हुन्छ भनेर मतपत्रको रङ परिवर्तन गरेकोप्रति आपत्ति जनाउँदै अब त्यस्तो गल्ती नदोहो-याउन आग्रह गर्नुभयो । कांग्रेसले संसद् भंग गर्दा सदर हुने एमालेले गर्दा बदर हुने सर्वोच्च अदालतले फैसला गर्ने गरेको इतिहास रहेकोप्रति असन्तुष्टि जनाउँदै उहाँले अहिले लोकतन्त्रविरुद्धका आचरण हुँदा पनि कोही पनि बोल्न नसकेको बताउनुभयो ।

फरक प्रसंगमा ओलीले कांग्रेसका केही नेताले कार्यकर्तालाई चुनाव चिह्नविहीन बनाइदिएको टिप्पणी गर्दै अझै १५-२० वर्ष कांग्रेस कार्यकर्ताले रूखमा भोट हाल्न नपाउने दाबी गर्नुभयो । कांग्रेसले चुनावमा जाने कुरालाई प्रतिगमन भनेर लोकतन्त्रको परिभाषा फेर्न खोजेको भन्दै ओलीले चुनाव हुन नदिने र अदालतबाट नियुक्ति पत्र लिने उल्टो बाटोमा कांग्रेस हिँडेको आरोप लगाउनुभयो r