मतदानमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान

0
Shares

काठमाडौं । 

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर मतदान गर्न आह्वान गर्नुभएको छ ।

मंगलबार मतदाताहरूलाई लक्षित गरी एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले अत्यन्त कठिन साधना र समर्पणको फलस्वरूप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान् अभियानमा निर्भिकता साथ सहभागी भई मतदान गर्न आह्वान गर्नुभएको हो ।

देउवाले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको इतिहास साक्षी रहेको उल्लेख गर्दै नेपालका हरेक राजनीतिक आन्दोलन र त्यसको सफलतामा नेपाली कांग्रेसको निर्णायक भूमिका रहँदै आएको पनि बताउनुभएको छ । ‘नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधान सभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद् विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम तपाईं हाम्रा सामु छर्लङ्ग छ’ –सभापति देउवाले भन्नुभएको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा दशकौंसम्म भएका लोकतान्त्रिक संघर्षको अविराम यात्राका थुप्रै आरोह, अवरोह र चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैं बनाउने अवसर प्राप्त गरेको बताउदै सभापति देउवाले भन्नुभएको छ– ‘नेपाली कांग्रेस एउटा राष्ट्रिय संकल्प, स्पष्ट दूरदृष्टि, इमानदार अठोट, सूचना–ज्ञान र प्रविधिका जानकार जनशक्ति र राजनीतिक एवं शासकीय स्थिरताका लागि प्रतिबद्ध छ ।’ कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवद्र्धन, जलविद्युत्को उत्पादन, पूर्वाधार विकास, रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेलगायतका सङ्कल्प नेपाली कांग्रेसले लिएको सभापति देउवाको भनाइ थियो ।

प्रधानमन्त्रीसमेत रहेका देउवाले लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोभिड—१९ को महामारीको त्रासदीमा रहेका आम नागरिकलाई २०७८ चैत्रभित्र खोप उपलब्ध गराउने प्रतिबद्धता समयमै पूरा भएको स्मरण पनि गराउनुभएको छ । अन्योलमा रहेको मेलम्चीको खानेपानी यही वैशाखभित्र वितरण गरी काठमाडौं नगरवासीको आकांक्षा पूरा गर्न सरकार सफल हुने भन्दै उहाँले नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको बताउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रिय समुदायमाझ भरोसा र विश्वास बढेको, संसद्बाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका तथा भ्रष्टाचारलाई निरुत्साहित गर्दै सुशासनका पक्षमा उल्लेखनीय काम भइरहेको बताउनुभएको छ ।