साढे ३ करोडको सुन चोरी आरोपमा तीन भारतीय पक्राउ



बुटवल । 

बुटवलमा गत १३ गते भएको ३ करोड ५० लाख बराबरको सुन चोरी घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जना भारतीयलाई पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिका–६ बीपीचोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा अन्दाजी ३ करोड ५० लाख बराबरको सुन चोरी गरेको आरोपमा प्रहरीले भारत साइ एन्क्लेव, गोमती कलोनी, लखनउ बस्ने ३५ वर्षीय मोहद जिसान खान, भारत जौहरी मोहल्ला चौक, लखनउका ३६ वर्षीय मोहसिन अब्दुल्लाह खान र भारत तकिया पेपर मिल कलोनी, निशातगन्ज महानगर लखनउ बस्ने २२ वर्षीय मोहम्मद सरिकलाई पक्राउ गरेको जनाएको छ ।

यीमध्ये मोहद जिसान खान मुख्य अभियुक्त रहेको र उनी चोरी गरिएको पसलकै छेउको कोठामा मासिक ३० हजार तिर्ने गरी भाडामा बसेका थिए । अभियुक्तहरूले घरधनीलाई विश्वास दिलाउन र आफूहरूलाई राम्रो देखाउन एक वर्षको भाडा ३ लाख ६० हजार अग्रिम रूपमा बुझाएको जिल्ला प्रहरी कार्यालयका रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।पसल छेउमै भाडामा बसेका अभियुक्तले वैशाख १२ गते राति ग्यास कटरले तिजोरी काटेर ३ करोड ५० लाख बराबरको सुन चोरी गरेको रेग्मीले बताउनुभयो । अपराध गरेको १३ दिनमा प्रहरीले अभियुक्तहरूलाई चोरीको सुनसहित पक्राउ गर्न सफल भएको छ ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीकै कमान्डमा रूपन्देहीका नायव प्रहरी उपरीक्षक नवरत्न पौडेल, इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्की, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक नुरुराज सारु, वडा प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक सागर भट्टराई, प्रहरी चौकी मेउडिहवाका प्रहरी सहायक निरीक्षक कमल भट्टराईको टिमले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीको व्यवस्थापनमा भारतीय सीमा नजिकै पक्राउ गरेको जनाएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर ४ महुवारीस्थित खुनगाई कालीदह सडक खण्डमा भारतीय नम्बर प्लेटको गाडी यूपी ३२ एल डब्लु ३१५१ सहित अभियुक्तहरूलाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिनुभयो । उहाँले अभियुक्तहरूबाट पंहेलो सुन जस्तो देखिने १ थान पहेंलो सिक्का, पहेंलो सुनजस्तो देखिने बिस्कुटजस्तो देखिने धातु गरी १ सय ग्राम ६ सय मिलिग्राम बरामद गरिएको बताउनुभयो । यस्तै, उनीहरूबाट मोबाइल भारतीय रुपियाँ, एटीएम कार्डलगायतका सामानहरू फेला परेको छ ।चोरी भएको अरू सुन उनीहरूले लुकाएको वा बेचेको सो सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्