एजेन्सी ।
श्रीलंकामा आर्थिक संकटले निम्ताएको असन्तुस्टीले भयानक रूप लिन थालेको छ । सोमवार प्रधानमन्त्री महिंदा राजपाक्षेले दवाबमा आएर राजीनामा दिएपछि असन्तुस्ट उनका समर्थकले कोलम्बोमा प्रदर्शन गरेका थिए । यससँगै उनका विरोधी पनि थप उग्र बनेका छन् ।
राजापाक्षेका समर्थकले कोलम्बो छाडेर जान खोज्दा उनीहरूको गाडी निशानामा परेको बताइएको छ । त्यस्तै प्रदर्शनकारीहरूले हंबनटोटास्थित महिन्दा राजापेक्षेको पुख्र्यौली घरमा पनि आगजनी गरेको जनाइएको छ । त्यस्तै राजधानीमा पूर्वमन्त्री जोनसन फर्नान्डोलाई कारसहित झिलमा फ्याँकिदिएका थिए । हालसम्म १२ जना भन्दा बढी मन्त्रीको घरमा प्रदर्शनकारी आगो लगाइसकेको बताइएको छ ।
न्युज एजेन्सी एएफपीका अनुसार सोमवार प्रदर्शनकारीहरुले प्रधानमन्त्री निवास टेम्पल ट्रीको मेन गेट तोडेका थिए भने त्यहाँको एउटा ट्रकमा आगजनी पनि गरेका थिए । भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यासको प्रयोग गर्नुपरेको थियो भने हवाइ फायर पनि गरेको थियो ।त्यस्तै श्रीलंकन सांसद अमरकीर्ति अथुकोरलाको निधन भएको थियो। रिपोर्टका अनुसार उनले प्रदर्शनकारीबाट बच्न फायरिङ गरेका थिए र एउटा बिल्डिङमा गएर लुकेका थिए । पछि त्यहाँ उनको शव बरामत भएको थियो ।
श्रीलंका अहिले आर्थिक हिसाबले खराब स्थितिमा छ । खाना र इन्धनको कमी, विजुलीमा कटौती र महँगीले नराम्ररी प्रभावित भएको छ । स्वतन्त्रतापछिकै खराब आर्थिक स्थितिमा पुगेको श्रीलंका विरोध प्रदर्शन उग्रहुँदै गर्दा मन्त्रीहरुको घर जलाउन पनि पछि परिरहेका छैनन् ।
सोमवार श्रीलंकाका विभिन्न भागमा मन्त्री र सांसदहरू प्रदर्शनकारीको आक्रोशको सिकार हुन पुगे । जसमा श्रीलंका पेरामुना ९एलएलपीपी०का सांसद बंडुला गुणबर्धने, प्रसन्ना रणतुंगा, चन्ना जयसुमना, कोकिला गुणबर्धना, अरुंडिका फर्नान्डो, थिसा कुटियाराची, कनका हेराथ, पवित्रा वन्नियाराचीलगायतको घरमा प्रदर्शनकारीले आगजनी गरेका थिए । त्यस्तै सरकारविरोधी प्रदर्शकारीले मेयर समनलाल फर्नान्डो, सांसदहरू सनथ निशान्त, महिपाल हेराथ, थिसा कुट्टियाराची, रमेश पथिराना, निमल लान्जालगायतको घरमा आगजनी गरेका थिए ।











प्रतिक्रिया