तपाईंलाई नै भोट किन दिने ?


काठमाडौं महानगरपालिकाको वडा नं. २३ मुलुककै पहिचान र प्रतिष्ठा बोकेको क्षेत्र हो । जीवित देवीको देशका रूपमा चिनिने नेपाललाई यही वडामा रहेको कुमारी घरले चिनाउने हो । यस चिनारीलाई सबल बनाउन यहाँको स्थानीय सरकारसँग पर्याप्त भिजन हुनु आवश्यक छ । राजधानीको संस्कृति र सभ्यतालाई संरक्षण र सम्वद्र्धनका लागि योजना हुनु आवश्यक हुन्छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा यस वडाको नेतृत्व गर्न तयार प्रमुख दलका वडाध्यक्षका प्रत्यासीहरुलाई नेपाल समाचारपत्रले ‘तपाईंलाई भोट किन दिने ?’ भनेर सोधेको छ । जवाफ हाजिर छ ः

उत्तमरत्न मानन्धर, नेपाली कांग्रेसलाई यस कारणले भोट दिउँ
१. वडाका विभिन्न स्थानहरूमा असमान विकास निर्माणका कार्यहरू हुन नदिई समान रूपमा विकास निर्माणका कार्य गर्न ।
२. वडामा भ्रष्टाचारका कुराहरू सुनिएकाले आर्थिक अपराधविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी भ्रष्टाचारमुक्त वडा निर्माण गर्न ।
३. अहिले वडामा परिवर्तनको खाँचो बढी देखिएको र मैले नेपाली कांग्रेसका तर्फबाट विसं २०५४ सालको स्थानीय निर्वाचनमा विजय हासिल गर्दा सो कार्यकालको सही मूल्यांकन गरी वडावासीले मेरो समर्थन गर्नुहुनेछ र मेरो आवश्यकता पनि प्रस्ट देखिएको छ ।
४. हाल वडामा फोहोरमैलाको व्यवस्थापन सही रूपमा नगरिएकाले आउँदो हाम्रो कार्यकालमा सो व्यवस्थापन विशेष वैज्ञानिक ढंगले गर्ने योजना छ ।
५. आउँदो मेरो कार्यकालमा वडा अध्यक्षको हैसियतमा पाउने पारिश्रमिक र भत्ता नलिई सो रकम विपन्न तथा गरीब वर्गको स्वास्थ्य र शिक्षाका लागि कोष खडा गर्ने कार्यमा लगाउनेछु । साथै,

 -समावेशी, उत्तरदायी, भ्रष्टाचाररहित शासन व्यवस्था कायम गर्न ।
 -सहज र प्रभावकारी सेवा प्रवाह गर्न ।
– स्रोतको उचित व्यवस्थापन, स्थानीय नागरिक र उपभोक्ताकै अगुवाइमा विकास–निर्माण गर्न ।
– स्थानीय पूर्वाधारको उचित प्रयोग, संरक्षण र सम्वद्र्धन गर्न ।
-उद्यम, रोजगारी र स्वरोजगारीको अध्ययन र अवसरको सिर्जना गर्न ।
-प्रमाण, तथ्य र तथ्याङ्कका आधारमा बजेट, नीति र योजना तर्जुमा गर्न ।
-सूचना प्रविधिको उच्चतम प्रयोग गर्न ।

चन्द्रमान मुनिकार, कामपा–१९, एमाले
काठमाडौं महानगरपालिका–१९ वडा विश्व सम्पदा सूचीकृत हनुमान ढोका दरबार क्षेत्र समेटिएको यस वडामा विष्णुमती नदी किनारासंँगै दमाईटोल, यट्खालगायत भित्री बस्तीहरु पर्दछन् । सम्पदा र संस्कृतिले भरिएको यस वडाको अध्यक्षमा नेकपा एमालेबाट चर्या नृत्य गुरु चन्द्रमान मुनिकार खडा हुनुभएको छ । उहाँ आफूलाई मतदान गर्नुका कारणहरु यसरी बताउनुहुन्छ:

  • चर्या नृत्यको संरक्षण र सम्वद्र्धनका लागि जीवन समर्पित गर्दै आएको छु । बुद्ध धर्मको अघ्ययन र वाणिज्य शास्त्रमा स्नातकोत्तरसम्मको पढाइ गर्नुका साथै सामाजिक संघसंस्थामार्फत सामाजिक गतिविधि र साहित्य लेखनमा संलग्न छु । त्यस अतिरिक्त हामीले १९ वडाभित्र रहेका अव्यवस्थित तारहरुको व्यवस्थापन, वडाको सरसफाइका लागि विशेष योजना ल्याउने, विष्णुमती किनारलाई हरियाली पार्कका रूपमा विकास गर्ने, वडालाई प्रविधिमैत्री बनाउने, वडाबासीको आधारभूत सेवालाई ध्यान दिने, वडाका विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षाका साथै जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने लगायतका योजना अघि सारेका छौं ।
  • १९ वडाभित्रका मूर्त सम्पदाको पुनर्निर्माण, जीर्णोद्धार साथै अमूर्त सम्पदाको संरक्षण र सम्वद्र्धनका लागि गुरुयोजना नै बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छु । कंकेश्वरीको मन्दिरलाई विश्वसामु चिनाउन व्यवस्थित र विकास गर्दै विश्व सम्पदामा सूचीकृत गर्ने गुरु योजना रहेको छ । वडाको विकासका लागि आफूसँग अल्पकालीनदेखि दीर्घकालीन रूपमा महत्व राख्ने विभिन्न योजना रहेको छ ।

राजेश श्रेष्ठ, कामपा–१९, नेपाली कांग्रेस

काठमाडौं महानगरपालिका–१९ वडामा पहिलेदेखि नेपाली कांग्रेसले जित्दै आएको वडा हो । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा पनि राजेश श्रेष्ठले नै विजय हासिल गर्नुभएको थियो । उहाँ भन्नुहुन्छ– ‘मैले कति काम गर्न सक्छु, के गर्न सक्छु ? मेरो सोच के हो ? भन्ने सबै मतदातालाई थाहा भएकै कुरो हो । मतदाताबीच परीक्षण भइसकेको हिजोभन्दा अझ बढी काम गर्नको लागि मैले उम्मेदवारी दिएको हुँ । सबैसँंग समन्वय गरी वडाको नीति, योजना तथा कार्यक्रम बनाउने मैले प्रतिबद्धता व्यक्त गर्दै आएको छु ।’ ३० वर्षदेखि पार्टी संगठन र सामाजिक संगठनमा लागेको व्यक्तिको नाताले भोट पाउने उहाँको विश्वास छ ।

हितकर ताम्राकार, कामनपा–२० एमाले

काष्ठमण्डप पुनर्निर्माण समितिमा कोषाध्यक्ष भई काम गरेका, नेपाल खनिज तथा द्रव्य संघमा महासचिव र ताम्राकार गुँला बाँंज खलःको सदस्यमा रहेर काम गर्दै आएका हितकर ताम्राकार संस्कृति र सम्पदाले भरिएको २० वडाको वडाध्यक्षमा उम्मेदवार हुनुहुन्छ । यहाँ विश्वसम्पदा सूचीमा परेको मरुसत्तः (काष्ठमण्डप) रहेको छ भने भीमसेन मन्दिर (भिन्द्यों) मरुगणेश, राम मन्दिर, पाटी, पौवा, देवता घर र ढुंगेधाराहरु रहेका छन् । ‘तिनको संरक्षण गर्ने कार्ययोजना सबैसामु राखेर मलगायत मेरो सम्पूर्ण सदस्यले उम्मेदवारी दिएका छौं । यस वडाको विकास लागि शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापनका तथा पर्यटन विकासका लागि काम गर्ने जमर्को गर्नेछौं । वडा कार्यालयबाट प्रवाह हुने सेवालाई चुस्त–दुरुस्त बनाउनुका साथै सेवा प्रवाहमा सहजका लागि हेल्पडेस्क राख्ने छौं ।’वडाभित्र पर्ने विश्वसम्पदा सूचीकृत क्षेत्रभित्र रहेका घरहरु परम्परागत शैलीमा निर्माण गराउन प्रोत्साहित गर्नेछौं । विष्णुमती नदीवरपर वातावरण स्वच्छ बनाउनुका साथै हरियाली बनाउनेछौं । भ्रष्टाचारमुक्त एवं सुशासन कायम गर्न उहाँले आफ्नो टिमलाई मत दिन आचग्रह गर्नुभएको छ ।

राजेन्द्र मानन्धर, कामपा–२० नेपाली कांग्रेस

पाँच वर्ष वडाध्यक्ष भएर काम गर्ने क्रममा मैले कसैलाई पक्षपात नगरी काम गरें । राजनीतिक आग्रह वा पूर्वाग्रह, नातावादा वा कृपावाद नगरी समभाव राखेर काम गरेको छु । संस्कृति सम्पदा संरक्षण गर्नेदेखि लिएर यहाँको विकास निर्माण, ढल र खानेपानीको व्यवस्थापनको काम गरेको छु । अझै पनि वडामा काम गर्नुपर्ने धेरै छ । ती काम गर्नका लागि मतदाताहरुले मलाई भोट दिने विश्वास गरेको छु । विष्णुमती नदीकिनाराको सफाइ, हरियाली बनाउने, सीसीटिभी राख्नुपर्ने लगायत कामहरु अझै बाँकी छन् । ती काम पूरा गर्न पनि मलाई मतदाताले निर्वाचित गराउनुहुनेछ । यस वडा संस्कृति, सम्पदाले भरिपूर्ण वडा हो, त्यसको संरक्षण, सम्वद्र्धन गर्नुका साथै पर्यटकीय क्षेत्रको विकासका लागि यस वडाले निकै टेवा पु¥याउन सक्छ । यस वडाको विकासका लागि आवश्यक तथ्यांक अभिलेख राख्न उच्च प्रविधिको प्रयोगलाई बढावा दिने योजना अघि सारेका छौं ।

मचाराजा महर्जन, कामपा–२३ एमाले

वडा विश्व सम्पदा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको दक्षिण भागमा अवस्थित छ २३ नम्बर वडा । जहाँ जीवित देवी कुमारी घर, नासद्यः रहेको छ । लिच्छिविकालीन विभिन्न बौद्ध विहारसँंगै अट्कोनारायणलगायत मन्दिरहरु सोही वडामा रहेका छन् । यस वडाको अध्यक्षका लागि नेकपा एमालेबाट प्रत्यासी महर्जन भन्नुहुन्छ  :

२०७४ सालको स्थानीय तहको निर्वाचनमा मैले जे–जति प्रतिबद्धता व्यक्त गरेको थिएँ, ती जम्मै प्रतिबद्धता वडाध्यक्ष भएपछि पूरा गर्ने प्रयास त गरें, तर कतिपय अझै अधुरा छन् । यसपटक वडाबासीको दैनिक जीवनमा जोडिएका समस्याहरु समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छु । प्रतिबद्धताअनुरुप काम गर्नका लागि हाम्रो टिमलाई भोट दिनुपर्दछ । यसअघि विपद् व्यवस्थापनको पूर्वाधार, ९० प्रतिशत विकासका कार्य गरेको छु । स्वास्थ्य–शिक्षा आधारसहित सम्पदा विवरण समेटिएको प्रोफाइल तयार गरेको छु । यहाँ रहेका गुठीघर निर्माण सम्पन्न भएको छ । शान्ति सुरक्षाको बन्दोबस्तका लागि समन्वयात्मक रूपले काम अघि बढेको छ । विकास निर्माणका थुप्रै कामहरु भएको छ । केही कामहरु बाँकी छन् । पहिला काम गरेको र बाँकी काम गर्नको लागि पनि हाम्रो टिमलाई भोट दिनुपर्दछ ।


सुजनविलास बज्राचार्य, कामनपा–२४, नेकपा एमाले

विश्व सम्पदा क्षेत्रमा अवस्थिति हनुमान ढोका दरबार क्षेत्रको उत्तरतर्फ रहेको काठमाडौं महानगरपालिका–२४ वडा संस्कृति, सम्पदाले संस्कृतिले भरिपूर्ण वडा हो । मखःबहा, इटुम्बहाल, किल्लाघः क्षेत्र पनि यसै वडामा पर्दछ । बज्राचार्य भन्नुहुन्छ :

२०७४ सालको निर्वाचनमा यस वडामा नेकपा एमालेका वडाध्यक्षदेखि लिएर वडा सदस्यहरु निर्वाचित भएका थिए । त्यति बेलाका पार्टीका निर्वाचित जिम्मेवार सदस्यहरुले निकै इमानदारीपूर्वक काम गरेको थियो । अहिले पनि १२ बुँदे प्रतिबद्धता अघि सारेका छौं । जसमा नेपाल भाषाको संरक्षण, संस्कृति र सम्पदाको संरक्षण र सम्वद्र्धन, महिला सशक्तीकरण तथा सबलीकरण, पर्यटन उद्योगको प्रवद्र्धन, वडालाई प्रविधिमैत्री बनाउने, खेलकुदको विकास, ढल निकास तथा खानेपानीको व्यवस्थापन गर्ने सामाजिक विकास, विषयमा समावेश गरेका छौं । प्रतिवद्धतापत्रमा विषयमा धेरै ठाउँबाट सकारात्मक प्रतिक्रियाहरु आएको छ । विगतमा गरेको काम र अहिलेको प्रतिबद्धतापत्रको आधारमा हामीलाई मत दिनुपर्दछ ।

विनोद राजभण्डारी, कामपा–२४ नेपाली कांग्रेस
राजभण्डारी भन्नुहुन्छ– ‘राजनीतिमा युवाको सहभागिता बढाउनुपर्ने खाँचो छ । म एक युवा, यहाँको संस्कृति, सम्पदा, नेपाल भाषाको विकासका लागि निरन्तर लागिरहेको छु । २०७२ सालको भूकम्पबाट सम्पदा क्षति हँुदा ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण सम्पदाहरुको संरक्षण गर्ने, सम्पदाको पुनर्निर्माणका लागि निरन्तर आवाज उठाउँदै आएको छु । यस हिसाबले हाम्रो समूहलाई जनताले मत दिनुपर्दछ । २४ वडा भनेको संस्कृति सम्पदाले भरिपूर्ण वडा हो । यसको संरक्षण र सम्वद्र्धनका लागि पहिलेदेखि काम गर्दै आएको आधारमा पनि मतदाताहरुले मलाई विश्वास गर्नुहुनेछ ।

जीवन डंगोल, कामपा– १५, नेपाली कांग्रेस

वडाध्यक्षका उम्मेदवार डंगोल भन्नुहुन्छ:

विश्वसम्पदा सूचीकृत स्वयम्भुको वातावरण स्वच्छ बनाउँदै अझ विकास गर्ने सोच रहेको छ । स्वयम्भुमा आउने पर्यटकको विकासका लागि थप काम गर्नेछु । यस वडामा अहिलेसम्म भएका अविकास, खानेपानी र ढलको अव्यवस्थालाई हटाउने प्रतिवद्धता व्यक्त गरेको छु । यस वडामा बाटो धूलो, धूवाँ र हिलाम्येरहित बनाउन मलाई मतदाताहरुले मत दिनु आवश्यक रहेको छ । युवा स्वरोजगारी बढाउन, वडाको सन्तुलित र समानुपातिक विकास गर्न पनि मलाई मतदाताहरुले मत दिने विश्वास गरेको छु । त्यस्तै, भाषा, कला, संस्कृति र वडामा सबैको पहुँच बढाउन, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन मतदाताले मलाई मत दिनेछन् ।