निर्वाचनलगत्तै के घर के डेरा


३५ वर्षअघिको सुपरहिट फिल्म के घर के डेराको नामबाट फेरि फिल्म बन्ने भएको छ।लोकप्रिय निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने फिल्मको हालै राजधानीमा आयोजित एक समारोहबीच शुभ मुहुर्त गरिएको छ। फिल्म निर्वाचन लगत्तै सुटिङ फ्लोरमा जाने निर्देशक खनालले जानकारी गराए।

स्वयम्भूस्थित हारती माता मन्दिरमा शुभ मुहूर्त गरी एक दृश्य छायांकन गरिएको फिल्मको छायांकन स्थानीय तहको निर्वाचन सकिएपछि जेठ २ गतेबाट शुरु हुने उनले बताए। फिल्मको सुटिङ ३० दिनको सेड्युलमा काठमाडौं उपत्यकामा हुनेछ।

दयाहाङ  राई, वर्षा राउत, सुरक्षा पन्त, रवीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतले अभिनय गर्ने फिल्म ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा शरद श्रेष्ठ, राजिव श्रेष्ठ र किरण महर्जनकले निर्माण गर्न लागेकी हुन्। युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्ममा सिंगे लामाको कथा तथा महेश दवाडीको पटकथा र संवाद रहनेछ। फिल्मका मुख्य अभिनेता विपिन कार्कीले निर्देशक खनालसँगको दोस्रो सहकार्यले उत्साहित भएको बताए।

निर्देशक खनालले काठमाडौंमा बस्ने सम्पूर्ण डेरावासीको जीवनसँग मिल्दोजुल्दो हुने फिल्मबाट दर्शकले सम्पूर्ण खुराक पाउने दाबी गरे।