मतपत्र च्यात्न पाँचवटा बाँदर एकैचोटी आउँछन् : ओली

0
Shares

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गर्नसक्ने आशंका व्यक्त गर्नुभएको छ । पोखरामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँले गठबन्धन भोटले चुनाव नजित्ने दाबी गर्दै सत्ता गठबन्धनले धाँधली गर्नसक्ने आशंका व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो– ‘हामीले अघिल्लोपटक पनि भरतपुरमा हेरेका छौं । मतपत्र च्यात्ने, थुत्ने, चपाउने, निल्ने त्यस्तै के के गरेर जित्ने हो । पशुपतिमा देखेका छौं, फूलको थाली बाँदरले खोसेर लग्छ । त्यहाँ त एउटा बाँदर आउँछ, यहाँ त पाँचवटा बाँदर एकैचोटी आउँछन् । त्यसैले हामी सचेत हुनु जरुरी छ ।’यसअघि, भरतपुरमा आयोजित चुनावी सभामा पनि आफूले सेना, प्रहरी र निर्वाचनमा खटिने कर्मचारीहरूलाई तटस्थ ढंगले निर्वाचन गराउन आग्रह गरेको स्मरण गर्दै उहाँले भन्नुभयो–‘प्रहरी प्रशासन, कसैको सहयोग चाहिँदैन । सहयोग चाहिएको जनताबाट हो । जनताको अभिमत जस्ताको तस्तै प्रकट हुने गरी निर्वाचन गराउनुस् ।’

उहाँले कार्यकर्ताहरूलाई मतगणना नसिकिन्जेलसम्म मतपत्रबाट आँखा दायाँबायाँ नगर्न आग्रह गर्दै भन्नुभयो– ‘कसैले शान्ति सुव्यवस्थामा खलल पार्छ भने त्यसलाई रोक्नुपर्छ, बाकस एकछिन पनि आँखाबाट ओझेल पार्नु हुँदैन । जनताले मत हालेर मात्रै हुँदैन, मतपत्रको गणनामा सुदृढ ढंगले लाग्नुपर्छ ।’ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा के परिणाम ल्याउँछ भन्ने कुरा प्रष्ट भइसकेको र एमाले विजय भइसकेको भन्दै उहाँले कर्मकाण्ड पूरा गर्ने र विधि पु¥याउने काम मात्रै बाँकी रहेको दाबी पनि गर्नुभयो ।

वर्तमान सत्ता गठन्धन लोकतन्त्र र सरकारको नामको कलंक भएको आरोप लगाउँदै भन्नुभयो– ‘संसदले सरकार जन्माउँछ । परमादेशबाट बनेको यो झाडीमा जन्मेको गठबन्धन कसले फालेको हो थाहा छैन, कहाँबाट जन्मेको हो ? थाहा छैन ।’

कांग्रेस नेतृ आरुजुमाथि व्यंग्य

एमाले अध्यक्ष ओलीले कांग्रेस नेतृ आरजु देउवाले म्यानपावर कम्पनी चलाएको हुनसक्ने भन्दै व्यङ्ग्य गर्नुभएको छ ।
केही दिनअघि कांग्रेस नेतृ राणाले एउटा चुनावी कार्यक्रममा बोल्दै त्यो ठाउँका ५-६ जना व्यक्तिलाई फ्रि भिसा र फ्रि टिकटमा मलेसिया पठाइदिने घोषणा गर्नुभएको थियो । चुनावी सभामा ओलीले भन्नुभयो– ‘मलेसिया सम्झँदा कांग्रेका एक नेताको भाषण पनि सम्झें मैले ।

धेरैलाई त सक्दिन, ५-६ जनालाई फ्रि भिसा र फ्रि टिकटमा मलेसियामा पठाइदिन्छु रे म्यानपावर कम्पनी खोलेको होला भित्रभित्रै । हामी मलेसिया सलेसिया हैन, देशभित्रै युवाहरूलाई तालिम दिन्छौं, रोजगारी दिन्छौं । रोजगारी मात्रै हैन, स्टार्टअपको रूपमा सर्टिफिकेट राखेर ऋण दिन्छौं ।’ उहाँले युवाहरूलाई राष्ट्र निर्माणको अभियानमा सरिक गराइने जिकिर गर्दै भन्नुभयो– ‘भिन्नता यहीँ छ ।

३–४ कक्षाका बालबालिकालाई भिन्नता छुट्याऊ भनेर दिएको हुन्छ । त्यसो गर्दा साना बच्चाबच्चीलाई कांग्रेस र एमालेको, एमाले र गठबन्धनको भिन्नता छुट्याऊ भन्यो भने सजिलै छुट्टयाइदिन्छ ।’ उहाँले मलेसियामा मजदुर किसानको बलसँग सम्बन्धित रहेको एउटा गीतको प्रसंग निकाल्दै यहाँ पनि जनताले बल देखाउनुपर्ने बताउनुभयो ।