काठमाडौं ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि मत माग्ने आज अन्तिम दिन हो । आज मध्य रातीबाट मौन अवधि शुरू हुँदैछ । मौन अवधि शुरू हुनु एक दिनअघि सोमबार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमाथि झुटको खेती गरेको आरोपको लगाएको छ ।नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार मुल समितिका संयोजक डा. प्रकाशशरण महतले एमाले झुटको खेती गर्न सिपालु रहेको भन्दै यो निर्वाचनमा पनि आम मतदातालाई भ्रमपूर्ण तथ्य प्रस्तुत गरी मतदातालाई झुक्याउन खोजेको आरोप लगाउनुभयो ।
प्रतिपक्ष दल एमालेले बिगारेको सबै काम कांग्रेसले सपारेको भन्दै प्रवक्ता डा.महतले यसअघि एमाले अध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकारले परराष्ट्र सम्बन्ध पनि बिगारेको आरोप लगाउनुभयो । ओली सरकारको पालामा छिमेकी मित्र राष्ट्रहरूसँगको सम्बन्ध असन्तुलित बनाइएको आरोप लगाउँदै उहाँले भन्नुभयो– ‘नेपाली कांग्रेसको सरकार आएपछि सो कमजोरी सच्च्याइएको छ ।’
संविधान निर्माणमा पनि ओलीको निस्क्रियता रहेको र अहिले पनि एमालेले संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको उल्लेख गर्न नसकेको आरोप लगाउँदै भन्नुभयो– ‘संविधानविपरित दुई–दुईपटक प्रतिनिधिसभा विघटन गर्ने उहाँको अधिनायकवादी र सर्वसत्तावादी प्रवृत्तिलाई हामीले बिर्सेका छैनौं ।’
एमाले लोकतन्त्रको आत्मा मानिएको निर्वाचनप्रति अन्तरआत्मादेखि प्रतिबद्ध नरहेको दाबी गर्दै डा. महतले भन्नभयो– ‘२०७२ सालमा तीन तहको निर्वाचन गर्ने जिम्मेवारीसाथ सरकारको नेतृत्वमा आउनुभएका के.पी. ओलीले एक वर्ष बित्दा पनि निर्वाचनको सुरसार गर्न नसकेपछि उहाँको सरकार हटाएर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र तत्कालीन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) को सहकार्यमा बनेको गठबन्धनले २०७४ सालमा तीनै तहको निर्वाचन गराएको हो ।’
पत्रकार सम्मेलनमा उहाँले एमालेले स्थानीय निकायलाई परमुखापेक्षी बनाउन खोजेको, संसद् विघटन गर्ने दुस्साहस गरेको, संसद्लाई बन्धक बनाएको, संघीय शासनप्रतिको प्रतिवद्धता कमजोर रहेको बताएको छ । कांग्रेस प्रवक्ता डा. महतले एमाले नेतृत्वको सरकारले ल्याएको संवैधानिक पपिरषद्सम्बन्धी अध्यादेश राज्य कब्जाको नियतका साथ आएको आरोप पनि लगाउनुभयो ।
प्रवक्ता डा. महतले ओली नेतृत्वको सरकारले सांसद अपहरण गरेको, राज्य संयन्त्रमा अनधिकृत हस्तक्षप गरेको तथा स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई निवासमा बोलाएर संसद् भंग गर्ने, संकटकाल लागु गर्ने, विमति राख्नेहरूसँग प्रतिशोध साँध्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दुरूपयोग गरेको आरोप लगाउनुभयो । त्यति मात्र होइन, नेपालको नक्सा प्रकाशनको सवालमा पनि जनतातिर फर्केर चर्का कुरा गरे पनि ओलीले सम्बन्धित ठाउँमा कुरा उठाउन नसकेको अरोप लगाउँदै उहाँले कांग्रेसले नेपाली भूमि फिर्ताको विषयमा भारतसँग वार्ता गरी ठोस दृष्टिकोण स्पष्ट रूपमा राखेको दाबी गर्नुभयो ।
ओलीको नेतृत्वमा रहेको नेकपा एमालेको सरकारले पानी जहाज, घर–घरमा पाइपबाट ग्यास र चीनबाट रेल ल्याउने कुरा गरेको जिकिर गर्दै डा. महतले भन्नुभयो– ‘काम भने केही भएको रहेनछ । पानी जहाज कोलकोतामा नै छ । रेलको सर्वेक्षणको काम भएको रहेनछ । सर्वेक्षणको सम्झौता चीनका विदेश मन्त्री याङ यीको हालैको नेपाल भ्रमणमा शेरबहादुर देउवाकै सरकारले गरेको हो ।’
ओलीको शासनकालमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा अर्बौं रुपियाँ दुरूपयोग भएको भन्दै कांग्रेसले कुनै सम्भाव्यता अध्ययन बिना हचुवाका तालमा बालुवाटारबाट निर्माणको उद्घाटन भएका पालिका अस्पताल र निर्वाचन क्षेत्रस्तरीय सडक बालुवाटारको रेकर्डमा मात्र बनेको आरोप लगाएको छ ।
२०७२ को संविधानले स्थानीय तहलाई सबल, सक्षम र अधिकार सम्पन्न बनाएर स्थानीय सरकारको रूपमा स्थापित गर्ने मनशाय राखेको उल्लेख गर्दै कांग्रेस प्रवक्ता डा. महतले भन्नुभयो– ‘तर, अधिनायकवादी र केन्द्रीकृत शासन प्रणालीका पक्षधर ओलीको प्रधानमन्त्रीत्व कालमा यी निकायलाई प्रशासनिक, वित्तीय र राजनीतिक हिसाबले सबल र सक्षम बनाउन आवश्यक १ सय २१ वटा कानुनहरू बनाइएन । केही कानुन संशोधन गरेर झारा टारियो । स्थानीय तहले खोजेका यी कानुन नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले ल्याउने छ ।’
एमाले काण्डै काण्डले बदानाम भएको भन्दै कांग्रेसले एमालेका अध्यक्ष ओलीको सरकारको पालामा भएका ३३ किलो सुनकाण्ड, सिन्डिकेट काण्ड, निर्माण व्यवसायी धरपकड काण्ड, बाइडबडी काण्ड, गोकर्ण रिसोर्ट र यती काण्ड, गुठी विधेयक काण्ड, सञ्चारमाध्यम नियन्त्रण विधेयक काण्ड, ओम्नी काण्ड, भारतको खोप खरिदमा कमिसन एजेन्ट घुसाउने काण्ड, नुन काण्ड, चिनी काण्ड, प्रतिनिधिसभा विघटन काण्ड, सांसद डा. सुरेन्द्र यादव अपहरण काण्ड, चार्टर्ड उडानमा कमिसन काण्ड, सेक्युरिटी प्रेसको ७० करोड घुस काण्ड, बुढी गण्डकी काण्ड, रेल्वे ट्रयाक ठेक्का काण्ड, फास्ट ट्रयाक ठेक्का काण्ड, संसद् बैठक अवरोध काण्ड, बजेटमा चकलेट र विद्युतीय गाडीको करको दरसम्बन्धी गोपनीयता चुहाएको काण्ड नेपालको इतिहासमा कलंकित घटनाको रूपमा स्मरणीय बताएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले एमालले निजी र सामुदायिक गुठीसमेत कब्जा गर्ने दुस्साहस गरेको आरोप पनि लगाउनुभयोे ।
प्रतिक्रिया