नेपालमा रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनाइयो



काठमाडौं । नेपालमा गुरुदेव रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनाइएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयको संयुक्त आयोजनामा गुरुदेव टैगोरको जन्मजयन्ती मनाइएको हो ।

आज (सोमबार) भारतीय राजदूतावासस्थित विवेकानन्द हलमा गुरुदेव रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनाइएको छ । टैगोरको जन्मजयन्ती आजादीका अमृत महोत्सवकै हिस्सा अनुरूप मनाइएको हो ।

गुरुदेव टैगोरको जन्मजयन्ती मनाउन आयोजना गरिएको कार्यक्रममा प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव श्री नवीन कुमारले रवीन्द्रनाथ टैगोरको प्रतिभाको प्रशंसा गरे । कुमारले आफूभित्र लुकेको क्षमतालाई उपयोग गर्न सबैलाई आग्रह पनि गरेका छन् ।

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शास्त्रीय संगीत गुरु तथा विद्यार्थीहरूले एकैसाथ रवीन्द्र संगीतको वाचन गरेका थिए भने केन्द्रीय विद्यालय काठमाडौंका विद्याथीहरूले टैगोरका कालजयी रचनामा आधारित गीत र नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै लुम्बिनी विश्वशान्ति मञ्चका अध्यक्ष तथा चर्चित वक्ता श्री वासु गौतमले “शान्ति निकेतनः शिक्षामा टैगोरको विचार” शीर्षकमा अन्तरक्रियात्मक प्रस्तुति प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा संगीत, कला र साहित्यका विद्यार्थी, भारतीय डायस्पोराका सदस्य र विद्वानहरूको सहभागीता थियो ।

रवीन्द्रनाथ ठाकुरको जन्म सन् १८६१ मे ७ मा भएको थियो । उनी भारतस्थित कोलकाताको जोडासाँकु भन्ने ठाउँमा जन्मेका थिए । उनको काव्यरचना गीताञ्जलिका लागि उनलाई सन् १९१३ मा साहित्य तर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्