हेटौंडाको उपमेयर हुनेमा सुमित्रा ढुक्क

0
Shares

हेटौंडा ।

नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका उपमेयरमा उम्मेदवारी दिएकी सुमित्रा काफ्ले (पराजुली) यति बेला मत माग्न घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । उहाँलाई आफूले चुनाव जित्नेमा शंका लागेको छैन ।

चुनावी अभियानमा मतदातालाई आकर्षित गर्न उम्मेदवारहरुले नयाँ–नयाँ उपाय सोचिरहँदा हेटौंडा उपमहानगर उपमेयर उम्मेदवार काफ्लेले पनि नयाँ उपाय सोचेर मतदातालाई आकर्षित गर्नुभएको छ । उहाँले व्यक्तिगत घटना दर्तालाई प्रभावकारी बनाउन प्रोत्साहन गरिने नीति एमालेले लिएको बताउँदै ३५ दिनभित्र घटनादर्ता गर्नेलाई १ हजार प्रोत्साहन रकम प्रदान गरिने संकल्प एमालेले गरेको बताउनुभएको छ ।

आसन्न स्थानीय तह सदस्य निर्वाचनको चुनावी कार्यक्रममा हेटौंडा–१६ हटियामा उहाँले घटनादर्ताले स्थानीय तहको मात्र नभई राष्ट्रिय विकास निर्माणका लागि नीति बनाउनसम्म गहिरो अर्थ राख्ने भएकाले यस्तो नीति लिइएको बताउनुभयो । ‘समयमै घटनादर्ता नीति तथा योजना बनाउन तथ्यगत आधार तय हुन्छ ।’ सुमित्राले भन्नुभयो ।

व्यक्तिको जीवनमा देखापर्ने जन्म, विवाह, सम्बन्धविच्छेद, मृत्यु र बसाइँसराइलगायत कार्यलाई व्यक्तिगत घटना भनिन्छ । त्यस्ता घटनाहरु तोकिएको स्थानमा गई दर्ता गर्ने कार्यलाई व्यक्तिगत घटनादर्ता भनिन्छ । राज्यमा बसोबास गर्ने प्रत्येक व्यक्तिका महत्वपूर्ण व्यक्तिगत घटनालाई आधिकारिकरूपमा रेकर्ड राख्नुलाई व्यक्तिगत घटनादर्ता भनिन्छ । सबैजसो देशले घटनादर्ताको सर्वमान्य सिद्धान्तअनुसार यसलाई स्थायी, अविच्छिन्न तथा अनिवार्य कार्यका रूपमा निरन्तरता दिइरहेका हुन्छन् ।

यद्यपि, कस्ता कार्यलाई घटना मान्ने भन्ने विषयमा देशको आवश्यकताअनुसार फरक पर्ने सन्दर्भमा हाम्रो देशमा भने जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेद गरी पा“च किसिमका घटनालाई लिइन्छ । यसअन्तर्गत सम्बन्धित कार्यालयले रेकर्ड राख्ने, भण्डारण गर्ने, उपयोग तथा वितरणसम्बन्धी कार्यहरु गर्दछन् ।

२०६२ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेकी काफ्लेले २०६३ माघबाट अनेम संघ हेटौंडा–३ को वडा कमिटी अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभएको थियो । त्यसपश्चात् उहाँले अनेम संघ हेटौंडा नगर कमिटी सदस्य, सहसचिव, सचिव हुँदै अध्यक्षका रूपमा समेत गरी १५ वर्ष जिम्मेवारी सम्हाल्नुभएको छ ।

उहाँ हाल अनेम संघ मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।नेकपा एमालेको वडा कमिटीमा ५ कार्यकाल विभिन्न जिम्मेवारीमा रहँदै नगर कमिटी सदस्य १ कार्यकाल, नगर कमिटी सचिवमा निर्वाचित हुँदै १ कार्यकाल जिम्मेवारी प्राप्त गरेकी उहाँले हेटौंडा नगर कमिटी ३ वटा इलाका कमिटीमा विभाजित रहँदा पश्चिम नगर इलाकाको ९ वटा वडाको संयोजकका रूपमा जिम्मेवारी लिनुभएको थियो ।

सुमित्रा २०७२ मंसिरमा नेकपा एमालेको १०औं जिल्ला सम्मेलनबाट जिल्ला कमिटी सदस्यको जिम्मेवारी प्राप्त गर्दै हाल जिल्ला सचिवालय सदस्य तथा हेटौंडा नगर कमिटी सहइन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।काफ्ले पहिलो कार्यकालमा रेडक्रस हेटौंडा–१० र ११ उपशाखा सचिव, दोस्रो कार्यकालमा सभापति, रेडक्रस जिल्ला सदस्य हुँदै हाल जिल्ला उपसभापतिका रूपमा विगत १५ वर्षदेखि रेडक्रसमा आवद्ध हुनुहुन्छ ।

हेटौंडाको शहीद स्मारक विकास समितिमा १२ वर्षदेखि आवद्ध हुँदै काम गरिरहनुभएकी काफ्ले थानाभ-याङ सामुदायिक प्रहरी सेवाकेन्द्रमा पहिलो कार्यकाल सहसचिव, दोस्रो र हाल तेस्रो कार्यकाल कोषाध्यक्षका रुपमा कार्यरत हुनुहुन्छ ।१३ वर्षदेखि हेटौंडा–११ मा सञ्चालित ग्रामीण असहाय बालबालिका सामुदायिक पुनःस्थापना केन्द्रमा विगत १० वर्षदेखि आवद्ध रहेर हाल दोस्रो कार्यकाल अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभएकी सुमित्रालाई आफू चुनाव जित्छु भन्नेमा विश्वास छ ।