सबै उम्मेदवारको भरोसा एउटै व्यक्तिमा

0
Shares

दोलखा । 

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा हरेक पार्टीका उम्मेदवार गाउँ, टोल र सहरमा मत माग्न व्यस्त छन् । तर, दोलखामा एउटा यस्तो गाउँ छ जहाँ उम्मेदवार मत माग्न जाँदैनन्, सबै उम्मेदवारले एउटा व्यक्तिलाई विश्वास गरेर आफूलाई मत खसाल्न लगाउनु भनेर सन्देश पठाउने गर्छन् ।

दोलखाको विगु गाँउपालिका वडा नम्बर १ मा पर्ने लप्ची तथा लुम्नाङमा अहिलेसम्मका कुनै पनि निर्वाचनमा उम्मेदवार मत माग्न पुगेका छैनन् । लप्ची पुग्न मोटरबाटो (लामाबगर) छोडेर दुई दिन हिड्नु पर्छ । लप्चीका बासिन्दा अहिले चौरी गोठसँगै लुम्नाङ झरेका छन् । लुम्नाङ पुग्न पनि मोटरबाटो छोडेर एकदिन कस्सिएरै हिँड्नुपर्ने भएकोले हरेक उम्मेदवारले एक जना स्थानीयमार्फत मतको लागि सन्देश पठाउने गरेका छन् ।

वडा नम्बर १ को केन्द्र लामाबगरबाट लुम्नाङ पुग्न एक दिन पूरै लाग्ने भएकोले कुनै पनि पार्टीका उम्मेदवार मतमाग्न गाउँ पुगेका छैनन्, सबै उम्मेदवारले मलाई खबर पठाएका छन् स्थानीय कर्मा शेर्पाले भने – ‘अब हामी सबै गाउँलेले सल्लाह गरेर कुन कुन उम्मेदवारलाई मत दिँदा ठिक हुन्छ सोहीअनुसार मतदान गर्छौं ।’

विगु गाँउपालिकाको वडा नम्बर १ लामाबगरमा पर्ने लप्चीमा ४६ घरधुरी रहेको छ । झण्डै दुई सय जनसंख्या भएको लप्चीका ६५ जनाको नाम मतदाता नामावलीमा समावेश रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।
चीनसँग सिमाना जोडिएको हिमाली गाउँ लप्चीका बासिन्दा मंसिरदेखि वैशाखसम्म चौरी खेद्दै लुम्नाङ झरेका हुन्छन् । लुम्नाङ प्राविमा मतदान केन्द्र रहेकोले निर्वाचनको दिन आसपास चौंरी गोठमा रहेका मतदाताहरू पनि लुम्नाङ प्रावि पुग्ने गर्छन् ।

स्थानीय ६१ वर्षीय तेम्बाछिरी शेर्पा यसअघिका हरेक निर्वाचनमा उम्मेदवार नै नचिनी मतदान गरेको उल्लेख गर्दै योपटक भने उम्मेदवार चिनेर मात्र मतदान गर्ने इच्छा रहेको बताउँछन् । तर, यो पटक पनि अहिलेसम्म उम्मेदवार मत माग्न लुम्नाङ नपुगेको र सबै उम्मेदवारले स्थानीय कर्मा शेर्पालाई खबर पठाएकोले तेम्बाछिरीको इच्छा पूरा हुने छाँट देखिएको छैन ।

उम्मेदवार चिनेर मात्र मतदान गर्ने सबैको चाहना भए पनि मत माग्न कुनै पनि उम्मेदवार नपुग्ने भएपछि बाध्य भएर उम्मेदवार नै नभेटी मतदान गर्नुपर्ने स्थानीय छिरीङ शेर्पाको गुनासो छ । मताधिकारको प्रयोग गर्ने नाममा उम्मेदवार नै नभेटी मतदान गर्दा लप्ची, लुम्नाङवासिले कहिल्यै सरकार भएको अनुभूति गर्न नसकेको छिरीङ शेर्पा बताउनुहुन्छ । मतदानको दिन भने हरेक पार्टीका एजेन्ट मतदान केन्द्र लुम्नाङमा पुग्ने गरेको स्थानीय कर्मा शेर्पाले बताउनुभयो ।

लप्ची, लुम्नाङमा मत माग्न उम्मेदवार नपुगेको मात्र हैन यहाँका स्थानीय अहिलेसम्म उम्मेदवारसमेत बनेका छैनन् । आफूलाई सबै पार्टीले वडा सदस्यमा उम्मेदवार बन्न अफर गरेको भए पनि त्यसलाई अस्वीकार गरेको कर्माले बताउनुभयो । उहाँले भन्नुभयो–‘हामी कुनै एउटा पार्टीको मात्र हुन चाहँदैनौं । गाँउमा सरकार भएको अनुभूति दिलाउन सक्ने जुनसुकै पार्टीको उम्मेदवार भए पनि उसलाई मतदान गर्ने सल्लाह गर्दैछौं ।