गठबन्धनलाई जिताउन केन्द्रीय नेताको अपिल

0
Shares

पोखरा ।

पोखरा महानगरपालिकामा मेयर पदका लागि गठबन्धनको उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई जिताउन गठबन्धनका नेताहरू पोखरा पुगेका छन् । पोखराको मेयरमा एमालेको तर्फबाट कृष्ण थापा चुनावी मैदानमा हुनुहुन्छ ।

कम्युनिस्टको गढको रूपमा मानिएको पोखरामा दुवैतर्फका कम्युनिस्ट नेताहरू चुनावी मैदानमा होमिएका छन् । कतिपय पुराना एमाले कार्यकर्ता माधव नेपाल पक्षमा नरहे पनि आचार्यलाई जिताउन लागिपरेका बताइन्छ ।
गठबन्धनका नेताहरूले आइतबार पोखरा महानगरपालिका अमरसिंह चौरमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै आचार्यलाई जिताउन अपिल गरेका छन् ।

आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलको कारणले नै आफ्नो सरकार बनेको जिकिर गर्दै गठबन्धनलाई जिताउनु कांग्रेसको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘कांग्रेसका लागि गठबन्धन सबैभन्दा बढी आवश्यक छ । प्रचण्डजी, माधवजी, जनता समाजवादीलगायत पाँच दल उदार भएर सहयोग गरेको छ । उनीहरूको सहयोगमा नै हाम्रो सरकार छ हेर्नुस् त ।’ उहाँले एमालेले जितेको खण्डमा ओलीले जे पनि गर्नसक्ने टिप्पणी गर्दै गठबन्धनलाई नस्विकारे पार्टीले कारबाही गर्ने चेतावनीसमेत दिनुभयो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीमा अझै पनि दम्भ रहेको र सोही दम्भका कारण समाप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यो सबैलाई हेक्का रहोस् । सबैलाई जानकार होस् ।

दम्भ राख्नुभयो भने तपाईंको पनि विनास हुनुबाहेक अरू केही उपाय हुँदैन ।’ उहाँले पोखरामा मेयर र उपमेयर गठबन्धनको आए फेवाताल संरक्षणलाई मुख्य एजेन्डा बनाएर आघि बढ्नसमेत आग्रह गर्नुभयो ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी गठबन्धलाई परास्त गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले गठबन्धलाई नजिताएमा देश राजनीतिक दुर्घटनामा जाने खतरा रहेको सुनाउनुभयो ।

उहाँले भन्नुभयो– ‘कांग्रेसको सरकार सफल बनाउन अपिल गर्दै गर्दा कतिपयले जनता धम्कायो हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेर पनि गलत अर्थ लगाइएको छ । म फेरि पनि गम्भीर रूपले भन्न चाहन्छु यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनका लागि जन्मिएको हो । यदि यो गठबन्धन दायाँबायाँ भयो भने देश राजनीतिक दुर्घटनामा जान सक्छ ।’